नोटिफाई नेपालLoading...



उपत्यकाका विभिन्न स्थानबाट अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्वासी तथा विपन्न परिवारको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्री नीशा मेहताको पहलमा कीर्तिपुरमा ‘स्वास्थ्य शिविर’ आयोजना गर्न लागिएको हो।
पछिल्लो समय काठमाडौं उपत्यकामा सुकुम्वासी बस्ती व्यवस्थापन तथा स्थानान्तरणका क्रममा नागरिकले भोग्नुपरेका कठिनाइ र सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै शिविर सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ। अस्थायी बासस्थानमा सरसफाइको कमी, मौसमको प्रभाव र मानसिक तनावका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई समयमै सम्बोधन गर्ने उद्देश्य राखिएको छ।
'विपन्न र असहाय नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो,' मन्त्री मेहताको भनाइ छ।
शिविरअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा प्रदान गरिनेछ। कार्यक्रम सञ्चालनका लागि मन्त्रालयअन्तर्गतको स्वास्थ्य समन्वय महाशाखाले वीर अस्पतालबाट आवश्यक विशेषज्ञ चिकित्सक र जनशक्ति परिचालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले उक्त कार्यक्रममार्फत स्थानान्तरणमा परेका नागरिकको स्वास्थ्य तथा आधारभूत आवश्यकताप्रति राज्य संवेदनशील रहेको सन्देश दिन खोजिएको जनाएको छ।






१६ बैशाख , २,०८३