नोटिफाई नेपालLoading...



कथाकार नवीन अभिलाषीको तेस्राे कृति ‘दहाड’ कथासङ्ग्रह लाेकार्पण भएको छ।
काठमाडौँस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण ढकाल, समालोचक राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा र कथाकार अभिलाषीले कथासंग्रहकाे लाेकार्पण गरेका हुन्।
वरिष्ठ साहित्यकार नारायण ढकाल ‘दहाड’ मा सङ्ग्रहीत कथाहरू सशक्त रहेकाे बताए। इतिहासको केन्द्रविन्दु बनाई लेखिएका कथाहरू नयाँ पुस्ताले अनिवार्य पढ्नुपर्ने उनले बताए।
समालोचक बानियाँले दलित समुदायका पीडा र संघर्ष सुन्दर रूपमा प्रस्तुत गरेकाे बताए। उनको लेखन शैली सरल, काव्यिक र प्रभावकारी रहेकाे पनि बताए।
निबन्धकार लामाले पनि कृतिमा दलित, भूमिहीन र राज्यविहीनताको अनुभूति गहिरो रूपमा चित्रण गरिएको बताइन्। उनले १२ वटै कथालाई समान रूपमा सशक्त र पछिल्लो समयका उत्कृष्ट कथामध्ये एक भन्दै प्रशंसा गरिन्।
उक्त पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएकाे हाे। संग्रहमा १२ कथा सङ्गृहीत छन्। ‘दहाड’ मा पञ्चायतकालीन समाज, सामाजिक विभेद, अन्याय, गरिबी, अभाव र मानवीय संवेदनाका विविध पक्ष घनीभूत रूपमा प्रस्तुत गरिएको छ।
दाङका निवासी कथाकार अभिलाषी बाँकेमा रहेर पत्रकारिता गरिरहेका छन्। यसअघि उनका दुई कवितासंग्रह ‘ईश्वरको अस्थिपञ्जर’ र ‘मौलामा बाधिएको राँगो” प्रकाशित भइसकेका छन्। उनी साहित्य र पत्रकारितामा उत्तिकै सक्रिय छन्।







१३ बैशाख , २,०८३