नोटिफाई नेपालLoading...



स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि काठमाडौंका प्रमुख सरकारी अस्पतालहरूले सेवा प्रवाह र गुणस्तर सुधारमा तीव्रता दिएका छन्।
मन्त्रालयको प्रत्यक्ष निगरानीपछि अस्पतालहरूमा सुलभ फार्मेसी विस्तारदेखि प्रविधिको प्रयोगसम्मका सकारात्मक परिवर्तन देखिन थालेका हुन्।
मन्त्री मेहताको निर्देशनअनुरूप राष्ट्रिय ट्रमा सेन्टरले सोमबारदेखि नै सुलभ फार्मेसी सञ्चालनमा ल्याउने भएको छ। वीर अस्पतालले पनि यसै साताभित्र सस्तो र सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने उक्त फार्मेसी सुरु गर्दैछ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भने यो सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको पाइएको छ।
बिरामीको चाप र हैरानी घटाउन अस्पतालहरूले प्रविधिको प्रयोग बढाएका छन्। वीर र टेकु अस्पतालमा बिरामीले क्युआर प्रणालीमार्फत नै आफ्नो रिपोर्ट निकाल्न सक्ने व्यवस्था मिलाइएको छ।
साथै, टेकुमा कुन औषधि उपलब्ध छ भन्ने जानकारीसमेत क्युआरबाटै लिन सकिन्छ। भीड व्यवस्थापनलाई थप प्रभावकारी बनाउन त्यहाँ सेवा काउन्टर ३ बाट बढाएर ५ पुर्याइएको छ।
यसैगरी, वीर अस्पतालले आफ्नो ‘केडी जोशी बर्न युनिट’ लाई थप स्तरीय बनाउन आवश्यक सुधारका काम अघि बढाएको छ। बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई तालिम दिनुका साथै सबै अस्पतालले कर्मचारीको सेवा र व्यवहार सुधार्न सफ्ट स्किल तालिम सञ्चालन गरिरहेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आइतबार वीर अस्पताल, ट्रमा सेन्टर र टेकु अस्पतालको स्थलगत अनुगमन गरिएको थियो।
टोलीले अस्पतालको सरसफाइ, १० प्रतिशत निःशुल्क सेवाको अवस्था र समग्र व्यवस्थापनको मूल्याङ्कन गर्दै तत्काल आवश्यक सुधार गर्न निर्देशन दिएको छ।