नोटिफाई नेपालLoading...



अटलान्टाको मर्सिडिज-बेन्ज रंगशालामा रेफ्रीले अन्तिम सिट्ठी बजाउँदा डिफेन्डिंग च्याम्पियन अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा खुसीयाली मनाउन सुरु गरिसकेका थिए।
सन् २०२६ को फिफा विश्वकपको बहुप्रतीक्षित सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई २-१ ले पराजित गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो।
खेल मैदानमा १-० को सुरुवाती अग्रता उल्टाउँदै अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले उत्कृष्ट पुनरागमन गोल गरेर टिमलाई जित त दिलाए।
खेल सकिएको केहीबेरमा अर्जेन्टिनाका दुई युवा खेलाडीहरू लिसान्ड्रो मार्टिनेज र जिओभानी लो सेल्सोले रंगशालाका दर्शकहरूतिर फर्किएर एउटा ठूलो ब्यानर प्रदर्शन गरे। जसमा स्पेनिस भाषामा लेखिएको थियो, ‘लास माल्विनास सोन अर्जेन्टिनास’ अर्थात् फकल्यान्ड टापु अर्जेन्टिनाकै हो।

यो ब्यानर मैदानभित्र कसरी आइपुग्यो र कसले पुर्यायो भन्ने कुरा अझै खुलेको छैन। तर, यसले बेलायती सञ्चारमाध्यमहरूमा ठूलो आक्रोश पैदा गरायो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको ढोकामा नयाँ कानुनी तथा अनुशासनिक संकट उभ्याइदियो।
विवाद रंगशाला र दर्शकदीर्घामा मात्र सीमित रहेन, यसको तरंग दुवै देशको उच्च राजनीतिक नेतृत्वसम्म पुगिसकेको छ। अर्जेन्टिनाकी दक्षिणपन्थी राष्ट्रवादी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले खेलाडीहरूको यस कदमको बचाउ गर्दै सामाजिक सञ्जालमा एउटा टिप्पणी सार्वजनिक गरेकी छिन्।
उनले लेखेकी छिन्- ‘रंगशालाभित्र ती ब्यानरहरू लैजान प्रतिबन्ध लगाइएको थियो तर सुरक्षा अधिकारीहरूले यो कुरा बिर्सिए कि ? माल्विनासको दाबी अर्जेन्टिनीहरूको रगत र मुटुमा बग्छ। कुनै पनि प्रतिबन्धले रोक्न सक्दैन।’
यसअघि नै सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि अर्जेन्टिनी खेलाडीहरूले यस्तै प्रकारको ब्यानरसहित मैदानमा फोटो खिचाउँदा फिफाले अर्जेन्टिनी फुटबल संघलाई ३० हजार स्विस फ्र्याङ्क जरिवाना तिराएको इतिहास छ।
फिफाको रंगशाला आचारसंहिताले रंगशालाभित्र कुनै पनि प्रकारको राजनीतिक, आपत्तिजनक, भेदभावपूर्ण वा उत्तेजक सन्देश बोकेका सामग्रीहरू प्रदर्शन गर्न निषेध गरेको छ।
त्यसैले यस पटक पनि अर्जेन्टिनी टोलीमाथि फिफाले जरिवाना वा खेलाडीहरूमाथि प्रतिबन्ध जस्ता कदम चाल्न सक्ने अनुमान खेल विश्लेषकहरूले गरिरहेका छन्।
यस ऐतिहासिक खेलका लागि खेल सुरु हुनुअघि नै अटलान्टाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो। सुरक्षा अधिकारीहरूलाई पनि यस भिडन्तको राजनीतिक र ऐतिहासिक गहिराइ राम्रोसँग थाहा थियो। त्यसैले रंगशाला र वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन १,६०० भन्दा बढी विशेष प्रहरी बल परिचालन गरिएको थियो।
खेल सुरु हुनुअघि नै अर्जेन्टिनाकी सुरक्षा मन्त्री अलेजान्ड्रा मोन्टेओलिभाले संयुक्त राज्य अमेरिकामै सुरक्षा अधिकारीहरूसँगको विशेष बैठकमा यस खेलका क्रममा हुन सक्ने सम्भावित राष्ट्रियतावादी झडप वा तनावलाई रोक्न कदमहरू चालिने बताएकी थिइन्।
उनले स्थानीय सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिँदै समर्थकहरूलाई रंगशालाभित्र फकल्यान्ड टापुमाथि सार्वभौमसत्ता दाबी गर्ने कुनै पनि प्रकारका राजनीतिक झण्डाहरू, प्लेकार्डहरू वा उत्तेजक पोस्टरहरू लैजान पूर्ण रूपमा प्रतिबन्ध लगाइएको जानकारी दिएकी थिइन्।
मन्त्री मोन्टेओलिभाका अनुसार कुनै पनि राजनीतिक, सामाजिक वा जातीय द्वेष फैलाउन सक्ने तत्वहरलाई गेटमै जफत गर्ने सुरक्षाकर्मीहरूलाई निर्देशन दिइएको थियो।
यद्यपि, सुरक्षाकर्मीहरूले दर्शकदीर्घामा रहेका समर्थकहरूलाई नियन्त्रण गर्न र त्यस्ता ब्यानरहरू भित्र लैजान रोक्न सफलता पाए पनि मैदानभित्रै देशको प्रतिनिधित्व गरिरहेका सेलिब्रिटी खेलाडीहरू आफैँले ब्यानर प्रदर्शन गरिदिएपछि सुरक्षा संयन्त्र र फिफाको नियम कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न खडा भएको छ।
भौगोलिक र राजनीतिक दृष्टिकोणले हेर्दा फकल्यान्ड टापु, दक्षिण एटलान्तिक महासागरमा अर्जेन्टिनाको तटभन्दा करिब ३०० माइल टाढा अवस्थित एउटा द्वीपसमूह हो। यो टापु भौगोलिक रूपमा अर्जेन्टिनाको नजिक भए पनि सन् १८३३ देखि निरन्तर रूपमा बेलायतको प्रशासनिक र सैन्य नियन्त्रणमा रहँदै आएको छ र बेलायतले यसलाई आफ्नो समुद्रपारिको क्षेत्रका रूपमा मान्यता दिँदै आएको छ।
अर्जेन्टिनाको दाबी अनुसार सन् १८१६ मा स्पेनको औपनिवेशिक शासनबाट स्वतन्त्र भएपछि यो टापु कानुनी र ऐतिहासिक रूपमा अर्जेन्टिनाको सार्वभौम अधिकारभित्र परेको थियो। तर सन् १८३३ मा बेलायतले आफ्नो साम्राज्यवादी सैन्य शक्तिको आडमा यस टापुमाथि जबर्जस्ती नियन्त्रण जमाएर त्यहाँका अर्जेन्टिनी बासिन्दाहरूलाई विस्थापित गरेको थियो।
अर्कातर्फ, बेलायतको दाबी अनुसार त्यहाँ बसोबास गर्ने बहुसंख्यक मानिसहरू बेलायती मूलका थिए र उनीहरूको आत्मनिर्णयको सम्मान गरिएको हो।
सन् १९६५ मा संयुक्त राष्ट्र संघले दुवै देशलाई यस विवादको शान्तिपूर्ण समाधान खोज्न वार्ताका लागि आह्वान गरेको थियो। दुई पक्षबीच विभिन्न समयमा लामो समयसम्म वार्ताहरू पनि भए। सन् १९८० मा बेलायत सरकारले यो टापु ९९ वर्षका लागि अर्जेन्टिनालाई भाडामा दिने र त्यसपछि फिर्ता लिने सम्झौताको प्रस्तावसमेत गरेको थियो, तर आन्तरिक राजनीतिक असहमति र स्थानीय बासिन्दाहरूको विरोधका कारण त्यो प्रस्ताव कहिल्यै अगाडि बढ्न सकेन।
कूटनीतिक वार्ताका सबै ढोकाहरू बन्द हुँदै गएपछि सन् १९८२ को सुरुवातमा अर्जेन्टिनामा राजनीतिक र आर्थिक संकट निकै गहिरिँदै गयो। त्यतिबेला अर्जेन्टिनामा जनरल लियोपोल्डो गाल्टिएरीको नेतृत्वमा एउटा क्रुर सैन्य जुन्ता शासनमा थियो। उनका विरुद्धमा बेरोजगारी, चरम आर्थिक मन्दी र मानवअधिकार उल्लंघनका कारण जनतामा व्यापक आक्रोश फैलिरहेको थियो।
इतिहासकारहरूका अनुसार आफ्नो बदनाम सत्तालाई जोगाउन र जनताको ध्यान घरेलु आर्थिक संकटबाट मोडेर राष्ट्रियताको भावना जगाउन सैन्य जुन्ताले फकल्यान्ड टापुमाथि सैन्य आक्रमण गर्ने गोप्य योजना बनाए।

सन् १९८२ अप्रिल २ का दिन अर्जेन्टिनी सेनाले अचानक फकल्यान्ड टापुमाथि आक्रमण गर्दै त्यहाँ तैनाथ रहेको सानो संख्याको बेलायती सुरक्षा बललाई सजिलै परास्त गर्यो र टापु आफ्नो कब्जामा लियो।
यि घटनाले विश्वलाई स्तब्ध बनाएको थियो। संयुक्त राष्ट्र संघले तुरुन्तै अर्जेन्टिनाको यस कदमको निन्दा गर्यो। उता बेलायतकी तत्कालीन मिजासकी प्रधानमन्त्री मार्गरेट थ्याचरले यसलाई आफ्नो देशको सार्वभौमिकतामाथिको ठाडो चुनौती ठान्दै बिनाकुनै सम्झौता युद्धको घोषणा गरिन्।
बेलायतले आफ्नो मुख्य भूमिभन्दा आठ हजार माइल टाढा रहेको दक्षिण एटलान्तिक महासागरतर्फ ‘अपरेशन कर्पोरेट’ अन्तर्गत एउटा विशाल नौसैनिक बेडाहरू परिचालन गर्यो। जसमा १२७ वटा अत्याधुनिक युद्धपोत, विमानवाहक जहाजहरू, पनडुब्बीहरू र २६,००० भन्दा बढी सैनिकहरू सामेल थिए।
७४ दिनसम्म चलेको यो युद्ध अत्यन्तै घातक र रक्तरञ्जित सावित भयो। अत्याधुनिक क्षेप्यास्त्र र नौसैनिक प्रविधिको ठूलो प्रदर्शन गरियो। युद्धको सुरुवातमै बेलायती आणविक पनडुब्बी ‘एचएमएस कन्क्वेरर’ ले अर्जेन्टिनी नौसेनाको विशाल युद्धपोत ‘जनरल बेलग्रानो’ माथि आक्रमण गरी समुद्रमा डुबाइदियो। ३०० भन्दा बढी अर्जेन्टिनी नौसैनिकहरूको सामूहिक मृत्यु भयो।
यो अर्जेन्टिनाका लागि सबैभन्दा ठूलो मानवीय र सैन्य वज्रपात थियो। यसको बदला लिन अर्जेन्टिनी वायुसेनाले आफ्नो ज्यान जोखिममा राखेर फ्रान्सेली निर्मित ‘एक्सोसेट’ मिसाइलमार्फत बेलायती युद्धपोत ‘एचएमएस सेफिल्ड’ माथि अचुक निशाना बनायो। यसमा परि कारण २० बेलायती सैनिकको मृत्यु भयो र बेलायतले पहिलो पटक आधुनिक युद्धको संवेदनशीलता महसुस गर्यो।
जल र हवाई युद्धको भीषण टकरावपछि बेलायती सेना फकल्यान्डको जमिनमा ओर्लन सफल भए। उनीहरू राजधानी पोर्ट स्ट्यानलीतर्फ अगाडि बढे। स्थल युद्धमा गुस ग्रीनको भीषण लडाइँ र सन कार्लोसको टकरावमा बेलायती सैनिकहरूले विजय हासिल गरे।
अन्ततः घेराबन्दीमा परेका अर्जेन्टिनी सैनिकहरूले सन् १९८२ जुन १४ का दिन आत्मसमर्पण गरेपछि यो छोटो तर अत्यन्तै क्रुर युद्धको विधिवत् अन्त्य भयो।
यस युद्धमा कुल ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक र ३ जना स्थानीय नागरिक गरी ९०७ जना मानिसले आफ्नो ज्यान गुमाउनुपरेको थियो।
युद्धको परिणामले दुवै देशको आन्तरिक राजनीतिलाई सधैँका लागि बदलिदियो। सैन्य पराजयको अपमान सहन नसकेर अर्जेन्टिनाका नागरिकहरू सडकमा ओर्लिए, सैन्य जुन्ता सरकार ढल्यो र सन् १९८३ को निर्वाचनमार्फत मुलुकमा लोकतन्त्रको पुनर्बहाली भयो।
उता बेलायतमा भने प्रधानमन्त्री मार्गरेट थ्याचरको राष्ट्रवादी छविको उचाइ बढ्यो। उनले त्यसपछिको आम निर्वाचनमा भारी बहुमतका साथ विजय हासिल गरिन्। युद्धपछि बेलायतले यस टापुमा आफ्नो ठूलो सैन्य उपस्थिति कायम राख्यो र सन् २०१३ को जनमत संग्रहमा ९९.८ प्रतिशत बासिन्दाले बेलायती समुद्रपारिका क्षेत्रकै रूपमा रहने पक्षमा मतदान गरे पनि अर्जेन्टिनाले यस मुद्दालाई संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो सार्वभौम अधिकारका रूपमा उठाउन छोडेको छैन।
यस रक्तरञ्जित युद्ध समाप्त भइको ठीक चार वर्षपछि, सन् १९८६ मा मेक्सिकोमा आयोजित फिफा विश्वकपको क्वाटरफाइनल खेलमा इङ्ल्यान्ड र अर्जेन्टिनाको जम्काभेट भयो।
अर्जेन्टिनीहरूका लागि यो खेल युद्ध मैदानमा गुमेको राष्ट्रिय स्वाभिमान र गौरवलाई हरियो दुवोको मैदानबाट पुनरुत्थान गर्ने एउटा सुनौलो अवसर थियो। अर्जेन्टिनाका जादुमयी खेलाडी डिएगो म्याराडोनाले सो खेलमा गरेका दुई गोलले इतिहासलाई सधैँका लागि नयाँ परिभाषा दिए।
खेलको ५१औँ मिनेटमा म्याराडोनाले इङ्ल्यान्डका अग्ला गोलकिपर पिटर शिल्टनभन्दा माथि उफ्रिएर चलाखीपूर्वक आफ्नो हातले बललाई नेटभित्र छिराए। यसलाई पछि म्याराडोना आफैँले ‘ह्यान्ड अफ गड’ अर्थात् भगवानको हातको गोल भनेर सम्बोधन गरे। यहि शब्दले बेलायतीहरूलाई आजसम्म पनि आक्रोशित बनाउँछ।
पहिलो गोलको विवाद सेलाउन नपाउँदै म्याराडोनाले खेलको ५५औँ मिनेटमा मैदानको मध्यभागबाट बल नियन्त्रणमा लिएर पाँच जना बेलायती डिफेन्डर र गोलकिपरलाई समेत स्तब्ध बनाउँदै इतिहासकै सबैभन्दा उत्कृष्ट गोल गरे। फिफाले पनि पछि ‘शताब्दीकै सर्वोत्कृष्ट गोल’ को रूपमा घोषणा गर्यो।
अर्जेन्टिनाले सो खेल २-१ ले जित्दै पछि विश्वकपको उपाधि जित्यो। जितपछि म्याराडोनाले आफ्नो संस्मरणमा भनेका थिए- ‘यो जित फकल्यान्ड युद्धमा मारिएका अर्जेन्टिनी युवा सैनिकहरूको आत्मालाई श्रद्धाञ्जली दिने र युद्धको पीडा बिर्सने एउटा माध्यम हो।’
त्यस घटनापछि यी दुई देशबीचको हरेक फुटबल खेल केवल एउटा खेल मात्र रहेन, बरु इतिहासको पुरानो हिसाबकिताब चुक्ता गर्ने एउटा लडाइँको मैदान जस्तो बन्न पुग्यो।
वर्तमान परिप्रेक्ष्यमा सन् २०२६ को विश्वकपको सेमिफाइनल खेल सुरु हुनुअघि पनि दुवै देशका सञ्चारमाध्यमहरूले पुरानो युद्धको इतिहास र म्याराडोनाको विरासतलाई मुख्य समाचार बनाएका थिए।
अर्जेन्टिनाका विदेश मन्त्री पाब्लो किर्नोले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै माल्विनास टापुहरू इतिहास, अधिकार र दृढ विश्वासका आधारमा अर्जेन्टिनाकै हुन् भनी लेखेका थिए। तर, यसको विपरीत आधुनिक फुटबलका खेलाडी र प्रशिक्षकहरूले भने खेल मैदानलाई राजनीतिबाट टाढै राख्नुपर्ने धारणा राख्दै आएका छन्।
इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले खेलअघिको पत्रकार सम्मेलनमा आफ्ना खेलाडीहरू विगतको इतिहासभन्दा वर्तमानको फुटबल रणनीतिमा केन्द्रित रहेको र प्रतिद्वन्द्वी टोलीलाई सम्मान गर्ने बताएका थिए।
अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पलले पनि यो केवल एउटा फुटबल खेल भएको र यसलाई राजनीतीकरण गर्न नहुने भन्दै यस विषयमा कूटनीतिक मञ्चहरूमा मात्र छलफल गरिनुपर्ने व्यावहारिक विचार व्यक्त गरेका थिए।
युद्धका जीवित सैनिकहरूको आधिकारिक संस्था ‘अप्रिल २ वार भेटरन्स फेडेरेसन’ ले पनि खेल सुरु हुनुअघि एक विज्ञप्ति जारी गर्दै समर्थकहरूलाई खेलकुदको सीमालाई सम्मान गर्न अपिल गरेको थियो।

यता, फुटबल खेलमा राष्ट्रिय झण्डा बाहेक कुनै पनि राजनीतिक दाबी वा विवादित क्षेत्रको नक्सा प्रदर्शन गर्नुलाई फिफाले आफ्नो आचारसंहिताको उल्लंघन मान्दछ।
विगतमा इरानका समर्थकहरूले रंगशालामा प्रदर्शन गरेका राजनीतिक झण्डाहरू र अन्य देशका खेलाडीहरूले दिएका राजनीतिक अभिव्यक्तिहरूमाथि फिफाले विभिन्न प्रकारका प्रतिबन्धहरू लगाएको इतिहास छ।
-एजेन्सीको सहयोगमा