नोटिफाई नेपालLoading...



कथाकार लक्ष्मी शर्माको पहिलो र नविनतम् कृति हो कथासङ्ग्रह ‘हजुरआमा’। २०२२ सालमा भरतपुर चितवनमा जन्मिनुभएकी लक्ष्मी शर्माको हाल मुकाम बुढानीलकण्ठ, काठाडौँमा रहेको छ। चालिस पचासको दशकदेखि नै मधुपर्क, समकालीन साहित्य, मिर्मिरे, दायित्व, मनोभाव, समष्टि जस्ता राष्ट्रियस्तरका पत्रिकामा कथा प्रकाशन गराइसक्नुभएकी स्रष्टा हुनुहुन्छ लक्ष्मी।
भुँडीपुराण प्रकाशनले २०८२ सालको चैत्रमा प्रकाशन गरेको यो पुस्तक ‘हजुरआमा’ को मूल्य रु. २५० रहेको छ। पुजनीय हजुरआमा पार्वती पौड्यालज्यूमा सादर समर्पण गरिएको छ। श्रीओम श्रेष्ठ ‘रोदन’ को भूमिका रहेको छ जसमा ‘नारी अन्तर्मनका कथाहरू छन्’ भनिएको छ। पुस्तकमा कथाकार लक्ष्मी शर्माका श्रीमान् डा. दीनवन्धु शर्माले शुभेच्छा लेख्नुभएको छ। यसलगत्तै कथाकार लक्ष्मी शर्माको ‘कृतज्ञता’ रहेको छ। कृतिभित्र छोटाछोटा जम्मा २७ ओटा कथा रहेका छन्।
कथासङ्ग्रहको शीर्षक ‘हजुरआमा’ रहेकाले कथाहरू प्रत्यक्ष/अप्रत्यक्ष रूपले हजुरआमाकालीन सामाजिक परिवेश तथा मनोविज्ञानका धरातललाई टेकेर लेखिएका छन्। यसको तात्पर्य के हो भने कथाभित्र गवेषण गरिरहँदा कथ्यपीठिकाको भावभूमि तथा परिवेशलाई दिमागका पत्रमा राख्नुपर्छ। वर्तमान पाठकले आफ्नी हजुरआमाको कालखण्डको स्मरण गनुपर्ने हुन्छ। यो नै कथारम्भको कडी हो। यसरी हेर्दा यो कथासङ्ग्रह तत्कालीन सामाजिक इतिहासको दस्तावेज बनेको छ भन्नुपर्छ।
कथासङ्ग्रह ‘हजुरआमा’ भित्र धेरै सुन्दर विशेषताहरू समावेश छन् । ती विशेषताले पाठकको मन तानिरहन्छन् । कतैकतै त रुवाइ पनि हाल्छन् । कृतिको शीर्षक नै ‘हजुरआमा’ रहेकाले प्रस्टै बुझिने कुरा भनेको सङ्गृहीत कथाहरू समाजमा महिलाले भोग्नुपरेका परम्परित असङ्गत जीवनको कायाकैरन हो । कथाहरूले प्राथमिक रूपमा महिलाका अन्तर्य कुरा तथा समस्यालाई विविध स्वरूपमा चित्रण गरेको छ।
हजुरआमाको बुढेसकालको मनोलाप, हजुरआमाले बच्चालाई गरेको माया, हजुरआमासँगको सङ्गति, सामीप्य तथा इमोस्नल कुराहरूको सन्दुक बनेको छ कृति । हजुरआमाका गुणहरू सन्तानमा सर्छ, सर्ने गरेको छ भनेर हजुरआमाप्रति आत्मालाप, एकालाप गरिएको छ । यो एकालाप प्रणाली वास्तवमा नै संवेदनशील तथा भावप्रदायक छ । कृतिको यो पक्ष पढेपछि पाठक एकोहोरो तानिन्छ र आफ्नी हजुरआमा सम्झेर नोस्टाल्जियामा पुग्छ।
कथाकृतिमा खासगरेर विवस नारीको चित्र उतारिएको छ । सन्तानप्रतिको आस गर्ने महिला तथा बाध्यतामा बाँचेका महिलाको चित्र बेजोडसँग चित्रित छ । जेजस्तो परिस्थिति भए पनि सहेर बस्नुपर्छ भन्ने परमपरागत सोचको दृष्टिविम्ब सर्लक्कै आएको छ । यससँगै पुरानो पुस्ताको नारी मनोविज्ञानले पनि कृतिको महत्त्वपूर्ण भावपक्ष बोकेको छ । ‘म धर्मकर्म गर्ने व्रतमा बस्ने भक्तिनीलाई अर्काको जुठो जे पायो त्यही खाने मान्छे किन चाहियो ? अब तिनको चाकडी मलाई किन चिाहियो ? (१७)’ भन्ने कथाका वाक्यांशले यही कुरा प्रक्षेपण गरेका छन् । अर्कोतिर आमाले सन्तानको राम्रो चिताएर भगवान्मा भक्तिको कामना गरेको आदर्शवादी नारीको चित्र पनि कथामा छन् । घरधन्दामा महिलाले गरेको कामको मान्यता नहुने सामाजिक परिपाटीप्रति विदोह बोल्न खोजिएको छ।
घर खान सासूका कारणले गर्दा परेको/पर्ने समस्याको चित्रण गरिएको छ। नेपाली नारीले भगवान्का नाममा पूजापाठ गरेर सबैकुरा बिर्सन्छन् भन्ने संज्ञान पनि चित्रण गरिएको छ । नेपाली परम्परागत समाजमा महिलाप्रति हुनेगरेको ताडना, प्रताडना कथ्यपरिवेशभित्र फनफनी घुमेका छन् कथा। करिअरको लागि विवाह नगरेको र प्रेम प्रस्ताव ठुकराइएकी महिलाको मनोविज्ञान, दिदीबहिनीबिचको प्रतिस्पर्धात्मक सम्बन्ध, माइतीको शरणमा जानुपर्ने अवस्थाले छोरीचेलीलाई दिएको पीडा र मनोविज्ञान कथाभरि छताछुल्ल छ।
कथाभित्र नारीलाई फकाई फुल्याई प्रेमको नाटक गरेर परपुरुषले बम्बै पुर्याएर बेचेको छ। महिला एड्सजस्तो रोग बोक्न बाध्यकारी स्थिति छ। कृतिभरि सौताका कथा, छोराछोरी पाएका कथा, छोरो पाउनु पर्ने सामाजिक अवस्थाको कथा पनि समावेश भएको छ। जिन्दगीमा आउने क्षणहरूको चित्रण, कान्छी स्वास्नी मरेपछि वा काम नलाग्ने रोगी भएपछि फेरि जेठीकै शरणमा जाँदा पनि सहर्ष स्विकार गर्ने नारीको चित्र उतारिएको छ।
सौतेनी आमाको स्वरूप तथा त्यसले नेपाली समाजमा पारेको प्रभावका बारेमा कृतिले निकै जोड दिएको देखिन्छ । एउटी आमाले मात्र होइन; बालबच्चाले समेत सौतेनी आमाको कहर भोग्नुपरेको स्थिति निकै पीडादायक छ।
कथाकारले आफ्नै जीवनमा भोगेका सामाजिक तथा पारिवारिक सम्बन्धहरूलाई उजागर गरेको पाइन्छ । आफ्नै कान्छी छोरीको मनोविज्ञानलाई कल्पित तरिकाले उतारेर कथाकारले कथा बुनेको तरिका मज्जाको छ । हजुरआमा, आमा, आफू वा छोरीको कथा मात्र तुनिएको छैन; बरु कृतिमा सिमान्तकृत नारीको पनि चित्रण गरिएको छ । घरमा घरायसी काम गर्न राखेकी महिलाको अन्तरकथा पनि उद्धृत गरिएको छ।
कथासङ्ग्रहमा पुरुषलोग्नेको विषयमा पनि यथेष्ट वर्णन गरिएको छ । कथामा लोग्नेको ‘तिमीलाई खुसी राख्न म जति मिहिनेत गर्न पनि सक्छु (५)’ भनेर लोग्नेको अवस्था र पुरुषार्थलाई पनि उजागर गरिएको छ । लोग्नेको विद्रूप रूप दर्शाइएको छ । अधिकांश कथामा पुरुषले विवाहेतर सम्बन्ध राख्नाले परेको नकारात्मक प्रभावको चर्चा छ । परस्त्रीगामी तथा रक्सी खाएर स्वास्नी कुट्ने लोग्नेको चित्रले संवेदनशील बनाउँछ । कृतिमा मूलतः पितृसत्तात्मक समाजमाथि प्रहार गरिएको छ।
अर्को तरिकाले भन्ने हो भने कथासङ्ग्रह ‘हजुरआमा’ ले कथ्यपीठिका एवम् कार्यपीठिकाको तत्कालीन समाजको चलचित्र देखाएको छ । कथामा बालविवाहको प्रसङ्ग पनि छ । बहुविवाहको प्रसङ्ग पनि छ । दाजु ठुला पण्डित बहिनी निरक्षर भएको सामाजिक तथा पारिवारिक विभेदको टडकारो चित्र उतारिएको छ । कथाभित्रका अधिकांश पुरुषहरूले अर्को बिहे गरेका छन् । सौताको समस्या छ । छोराछोरकिा टहुरा भएका छन् । खासगरेर समाजमा महिलाको बिजोग छ । परस्त्रीसँगको मायाले घरझगडा निम्त्याएको छ । बुढेसकालमा हेला गरिएको जेठी स्वास्नीसँग बस्न आउनुपरेको पुरुषको अवस्था पनि दर्शाइएको छ । यसैगरी पुरानो जमानामा आमाले दिने अर्ती ‘जसले जे भने पनि सहनू, मुख नफार्काउनू, बिहान पाँच बजे नै उठ्नू, घरआँगन बढार्नू, नुहाउनू, पूजा गर्नू अनि नआत्तिकन खाना पकाउनू, चोख्याएर भाँडा माझ्नू, (३२)’ जस्ता सन्देश प्रवाह गरिएको छ । परम्परागत नारीको सामन्तीय कुलभूषण स्वाद कथाले पस्केको छ।
कथाकारले नारी यौनचेतन मनोविज्ञानलाई शालीन तथा विम्बात्मक रूपमा प्रशस्त ठाउँमा प्रक्षेपण गरेको देखिन्छ । नीलो आकाश, रापिलो घाम र न्याउली रुने महिना (२२) शीर्षकको कथामा अब्बल विम्बात्मक प्रस्तुति गरेको देखिन्छ । ‘न राम्रा बिउहरू उमार्ने उर्वर मलिलो जमिन छ’ भन्ने वाक्यांशले उर्वर नभएको कोखको अर्थ बताउँछ । कृतिमा यौनमनोविज्ञानको कुण्ठाको विकृत रूप पनि छ । ‘राति मस्त निद्रामा थिएँ । सरोज भाउजू खुब सरापी रखेकी थिइन् “बाँझी, कैली, काफले बैँस छ भन्ने फुर्ति गर्छे, अर्कालाई दुख दिएर, अर्काको घर तहसनहस पार्ने नखरे, तेरो पेटमा सात जुनीसम्म बच्चा नआओस्” (२२)’ ले यही कुरा चित्रित गरेको छ । यसरी हेर्दा सुुसुप्त यौनमनोविज्ञान, नपुंशक लोग्ने, सन्तानको रहर र आवश्यकता र परपुरुषबिचको अन्तरसम्बन्धलाई अद्भूत तरिकाले व्यक्त गरिएको छ । ड्राइभरसँग भागेकी महिलाको मनोविज्ञान र सोच, २६ बर्से ठिटोसँग ४२ बर्से महिला आकर्षित भएको मनोविज्ञानले कथाकारको प्रतीकात्मक तरिकाले गरिएको यौनविश्लेषणात्मक शिल्पलाई प्रस्ट्याएको छ।
कथाकृतिले वर्तमानको खस्कँदो विवाह प्रणालीमाथि पनि दृष्टि दिएको प्रतीत हुन्छ । बिहेपूर्वको बाचा र विवाहपछिको वास्तविक जीवनमा आएको फरकबोधले कथाकार छट्पटिएको महसुस हुन्छ । कथाभित्र एउटा परिवेशको चित्रण गरिएको छ जसमा महिला पात्रले लोग्नेपुरुषको अत्याचार खप्न नसकी पोइला जानुपरेको अवस्थाको चित्रण गरिएको छ । लोग्ने स्वास्नी बिचको अनमेलको कारणका बारेमा कथाकार प्रस्ट भएको प्रतीत हुन्छ । कथांशमा लेखिएको ‘लोग्ने र मेरो उमेर पनि अलि फरक छ र रुचि पनि (२३)’ भन्ने मतले श्रीमान्श्रीमती नमिल्ने कारण प्रस्ट पारेको छ।
लक्ष्मी शर्माका कथाहरु पढ्दा विवाह संस्थाहरू असफल हुँदै गएको छनक मिल्छ । ‘आफैँले खोजेको लोग्ने राम्रो छैन । लोग्नेको माया पाइनँ (१४)’ भन्ने कथांशले यही कुरा पुष्टि गर्छ । कथाभित्र श्रीमान्को खराब बानीका कारणले श्रीमती दुःखी भएको अवस्था छ । दुःखी भईभई जिन्दगी लोग्नेसँगै गुजार्नुपरेको स्थिति छ । विवाहेतर सम्बन्धको व्यापकताले पनि यही अर्थ बोकेको छ । किनकि कथाभरि अधिकांश पुरुष पात्रले अर्की स्वास्नी ल्याएको तथा महिलाले सौता बेहोरेको प्रसङ्ग तथा कथावस्तु छन् । कथाकारकै शब्दलाई साक्षी राख्ने हो भने ‘मैले त बिहे हुनुअगाडि लोग्ने साह्रै नजिकको साथी हुन्छन् होला भन्ने ठानेकी थिएँ । मनमा लागेको सबै कुरा गरौँला भन्ने कल्पना गरेकी थिएँ (३७)’ ले यथार्थमा लोग्ने त्यस्तो प्रकारको साथी नभएको प्रस्ट पारेको छ । कथाको भेउमा प्रकारान्तरले वैवाहिक सम्बन्धको खस्कँदो अवस्थालाई चित्रण गरेको छ । वैवाहिक सम्बन्ध पीडाको कारण भएको बुझाउँछ । त्यसो भए तापनि कथाकार लक्ष्मी शर्माको अभिध्येय भने यौनलार्य छताछुल्ल पार्नु र विवाहप्रथालाई बर्खिलाप गर्नु होइन । कृतिमा उनले कल्पना गरेको समाज शालीन, सुन्दर र आदर्शमयी होस्, महिला वा पुरुषले समाजका आदर्शलाई बर्खिलाप नगरून् भन्ने नै हो।
कथासङ्ग्रहभित्र हजुरआमा, लोग्नेस्वास्नी तथा समग्र महिलाका सम्बन्धहरू मात्र प्रक्षेपित गरिएका छैनन्; बरु डेरामा बस्ताका असहजता, अलि धनी वर्गमा छोरीलाई पुल्पुल्याएर पाल्ने प्रचलन, बनिबनाउ सपनाको महल कतिबेला गर्लम्म ढल्छ, कसले थाहा पाउँछ र ? भन्ने जस्ता सन्देश बोकेका कथा पनि छन् । यसैगरी अमेरिकी मोह, विहेपछि अमेरिकी जाने लोभ र कागजी कारणले जान नपाएकोमा वियोगरति पनि प्रकट गरिएको छ । कथामा छिटफुट रूपमा माओवादी द्वन्द्वको बारेमा पनि केही खुराक पस्किएको छ।
कथाकारको व्यक्तिगत जीवनमा जहाँ जहाँ पुगेको, भोगेको र अनुभूत गरिएको ठाउँ छ तिनैलाई कथाहरूको कार्यपीठिका तथा कथ्यपीठिका बनाइएको छ । खास गरेर काठमाडौँ, चितवन, फिलिपिन्स आदि स्थान कथाको कार्यपीठिका भएर उभिएका छन्।
कृति पढिरहँदा शैलीगत रूपमा उनका कथामा प्रकृतिचित्रण उम्दा देखिन्छन्। प्रकृतिसँगै कथ्यलाई अगाडि बढाउने क्षमता देखिन्छ। कथामा प्रयुक्त ‘विहान आँगनभरि टम्म कुहिरो लागेको थियो। काठमाडौँमा जाडो सुरु हुन लागिसकेछ। मधेसबाट अस्ति मात्रै आएकाले होला जाडो अुनभव भइरहेको छ। बिस्तारै घामका किरणहरू छरिएर आँगनमा टम्म भरिएका सयपत्रीहरूमा छरिन लागेका छन्। मेरो मन पनि प्रकृतिसँगै रोमाञ्चित भएको छ (१)’ हरफले प्रकृतिचित्रणको सुन्दर यत्न गरेका छन्।
कथासङ्ग्रह निर्माणमा विविध परिवेशमा एकालाप शैली अपनाएको देखिन्छ । कथाकारभित्र जीवनयापनका क्रममा पर्नआएका सप्ट्यारा/अप्ठेरा तथा सब्डेरा÷अब्डेरा परिस्थितिका कारणले मनभित्र गुम्एिका विचार÷प्रतिविचारहरूले एकालाप शैलीमा अभिव्यक्त हुने मौका पाएका छन् । एकालाप विविध परिवेशसँग छन् । उनका कथामा प्रेमका बारेका एकालाप, परिवेशसँग एकालाप, पारिवारिक सम्बन्धसँग एकालाप, जिन्दगीसँग एकालाप गरिएको छ । कथाहरूमा कथाकारको आत्माबाट निसृत भएका अन्तद्र्वन्द्वका मुस्लाहरू छन् । यसरी हेर्दा आत्मालापीय शैली पनि भन्न सकिन्छ।
कथाभित्र विम्ब तथा प्रतीकको राम्रो तरिकाले समावेश गरिएको छ । मिठा सुन्तला तिनका बियाँको विम्बमा पे्रम र सन्तानको मनोवैज्ञानिक चित्र प्रस्तुत गरिएको छ (नीलो आकाश, रापिलो घाम र न्याउली रुने महिना २२) ।
‘मेरो जीवन पनि जाडो महिनाको दिनजस्तै छ (पृ.४१)’ भन्ने वाक्यले प्रतीकविधानलाई अंगीकार गरेको छ । कथाभित्र पस्दा स्थानीयता प्रवल छ । र, संस्मरणलाई कथा बनाउने शैली कथाकारको रहेको छ । शैलीगत हिसाबको सारमा भन्ने हो भने मनोविश्लेषणात्मक तथा आलापीय शैली नै मुख्य हुन्।
कृतिकार लक्ष्मी शर्माको भाषामा सरलता छ । यो सरलतालाई म मखमली भाषा, नौनी घिउ जस्तै कोमल भाषा तथा लयालु भन्दछु । भाषाका कारणले कुनै पनि पाठकले रोकिनुपर्ने वा झिँजो मान्नुपर्ने अवस्था शतप्रतिशत छैन । भाषा सलल बगेको छ । कताकति स्थानमा वर्ण व्यवस्थापन वा संवाद व्यवस्थापनका क्रममा स्थानीय भाषिकाको प्रभाव पनि देखिन्छ । यसले प्रस्तुतिलाई रोचक र आत्मीय बनाएको छ ।
कृतिभित्र नायक/नायिका तथा खलनायक/खलनायिका पात्रहरूको व्यवस्थापन गरिएको छ। खास गरेर प्रधान महिला पात्रहरूको हृदय कोमल, त्यागी, सहनशील तथा सौन्दर्यप्रधान देखिन्छ। केही नारी पात्र भने खलनायिका पनि छन्।
यसैगरी कृतिभरि मुख्य पुरुष पात्रहरू खलनायक छन्। ती क्रोधी छन्। पापी छन्। केही पुरुष पात्रचाहिँ नायक पनि छन् जो असल चिन्तन बोक्छन् तर तिनको सङ्ख्या कम छ।
कथासङ्ग्रह ‘हजुरआमा’ मा कथात्मकताको दर्बिलो तत्त्वभन्दा आत्मालाप, एकालाप र सोचाइका तरङ्ग आएका छन् भन्ने अप्टिक लाग्न सक्छ । किनकि पात्र सत्य छन् । परिवेश सत्य छ । सम्वाद सत्य छन् । निजी संस्मरणजस्ता लाग्छन् । कथावस्तु हृदयका स्पन्दनबाट निसृत छन् । कथावस्तुले अघिल्लो पारिवारिक तथा सामाजिक अवस्थाको प्रतिनिधित्व गर्नेभएकाले मृत्युलाई समाधान खोज्ने पलायनवादी प्रवृत्ति पनि देखिन्छ । कथाभित्र रुवाइ प्रवल तथा समाधानका रूपमा छ । ‘जे भने नि, जे गरे नि सहनु र रुनुबाहेक मेरो कुनै उपाय थिएन (३३)’ भन्ने कथाको वाक्यांशले यही कुरा पुष्टि गर्छ । लगभग कथासङ्ग्रहभित्र पापी पुरुष पात्र छन् । पुरानो मान्यताअनुसार ‘लोग्नेभन्दा म नै पहिले मर्न पाऊँ (३४)’ भन्ने आदर्शवादी विचार प्रस्तुत गरिएका छन् । कथाभित्र मिहीन तरिकाका सामाजिक, पारिवारिक, मनोवैज्ञानिक, यौनिक द्वन्द्वैद्वन्द्व छन् । तर तिनको समाधान पनि कथावस्तुले ओगटेको कालखण्डको मनोविज्ञानका आधारमा गरिएका छन् । परिस्थितिका मारमा परेर पात्रहरु करुण, निरीह र लाचार भएको जस्तो लाग्छ । परिस्थितिले पात्रलाई लम्पसार पारेको जस्तो देखिन्छ । वर्तमान पुस्तालाई कथामा द्वन्द्व समाधान गर्न प्रयोग गरिएको ‘लोग्नेस्वास्नीको झगडा परलाको आगो’ फर्मूलाले अचम्मित बनायो भने पनि आश्चर्य मान्नुपर्ने अवस्था छैन ।
कथासङ्ग्रहको कथ्यपीठिकाको स्वभावअनुसार नै कथा विनिर्माण भएको छ । त्यसैले उपसंहारतिर जाँदा ती लक्षणहरू प्रयुक्त हुने कुरा नौलो होइन । यसो भएकाले कथाले नियतिवादी धार बोकेको छ । न्याय, विद्रोह, समानता जस्ता कुरामा अग्रगम्यता नहुनु पनि स्वाभाविक हो । तर पनि कथाकारको सन्दृष्टि चाहिँ पारिवारिक शान्ति, सामाजिक न्याय तथा समानताकै रहेको कुरामा दुई मत छैन । कथाभित्र शान्ति छ तर मुर्दा शान्ति । कृतिभित्रका आध्यात्मिक चेतले अर्को जुनीको त्रास र आस बोकेका छन् । कथाहरू भाग्यवादी, समन्वयवादी, सहनशीलवादी छन् । कथाले विध्वंश वा उच्छृङ्खल समाधान खोजेका छैनन् । कथाकार लक्ष्मी शर्मा आध्यात्मवादी वा धर्मअनुप्राणित हुनुभएकाले कथासङ्ग्रहका सार पनि टुङ्ग्याउनीमा अभिव्यक्त भएको छ । कथाकारके शब्द पैँचो लिनेको हो भने ‘भगवान्को भक्ति जीवनभर गर्न पाएकोमा आफूलाई धेरै भाग्यमानी ठान्दैछु । धेरै भाग्यमानी छु । मायाजालमा मात्र फसेकी भए यति धेरै भक्ति गर्न पाउने थिइनँ होला (१०२)’ सम्पूर्ण कृतिको सार निस्कन्छ । सारमा भगवान् सापेक्ष भएर कथा लेखिएका छन् । आत्मा परमात्मा तथा दानपुण्यको अपार लक्ष अपनाएको देखिन्छ । संवेदनात्मक धारबाट लेखिएको छ । यस आधारबाट हेर्दा कथासङ्ग्रह उम्दा बनेको छ । आत्मालापको सुन्दर सारथी बनेको छ ‘हजुरआमा’ ।
अब अन्त्यमा कथाकार लक्ष्मी शर्मा तथा कथाकृति ‘हजुरआमा’ दुवैलाई हार्दिक बधाइ तथा शुभकामना !







२२ जेठ , २,०८३