नोटिफाई नेपालLoading...



नागरिक नायक एवं पूर्वप्रधानमन्त्री सुशिला कार्कीले नेतृत्व तह र पढेलेखेका वर्गमा व्यक्तिवादी तथा स्वार्थी चरित्र हावी भए पनि आम नेपाली जनता भने निकै असल, सोझा र महान् रहेको बताएकी छन्।
नेपाल रिपब्लिक मिडियाको १५ औं स्थापना दिवसका अवसरमा आयोजित ‘नागरिक नायक’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको स्वभाव, चेतना र मौनताभित्रको शक्तिको प्रशंसा गरिन्।
समाजका टाठाबाठा र पढेलेखेका भनिने वर्गमा अरूको खुट्टा तान्ने, ‘मै खाऊँ मै लाऊँ’ भन्ने प्रवृत्ति देखिए पनि गाउँ–ठाउँका साधारण जनताको चरित्र भने अत्यन्तै निश्छल रहेको उनले सुनाइन्।
‘म त सबभन्दा ठूलो कुरो, महान् त नेपाली जनतालाई ठान्छु,’ नागरिकको प्रशंसा गर्दै कार्कीले भनिन् ‘पढेलेखेका मान्छेहरूमा मैले अघि बताएजस्तो खराब चरित्र छ, तर आम जनता साह्रै सोझो र साह्रै असल छन्।’
जनता सोझा र निश्छल भए पनि उनीहरू राजनीतिक रूपमा भने अत्यन्तै सचेत र बुझक्कड रहेको उनको विश्लेषण छ। नेता र पढेलेखेका वर्गले जनतालाई जसरी नजरअन्दाज गर्न खोजे पनि जनताले समय र अवस्था हेरेर सही निर्णय लिन सक्ने चेतना राखेको उनले सुनाइन्।
‘जनता साह्रै असल र सोझा छन्, तर उनीहरू एकदमै बुझेका पनि छन्,’ उनले भनिन्, ‘परिवर्तन कसरी चाहँदा रहेछन् र जनताको भावना के रहेछ भन्ने कुरा उनीहरूको व्यवहारबाटै बुझ्न सकिन्छ। अवस्था हेरेर जनताले आफ्नो निर्णय गर्छन्।’
मौनताभित्रको शक्ति आम नागरिक सडकमा उफ्रेर वा नाराबाजी गरेर आफ्नो धारणा नराखे पनि उनीहरूले शान्त रूपमै ठूलो परिवर्तनको चाहना राख्ने गरेको उनले सुनाइन्।
चुनावको समयमा जनताले देखाएको मौनतालाई कसैले पनि सजिलै पढ्न नसक्ने तर नतिजा आउँदा उनीहरूको चाहना छर्लङ्ग भएको उनको भनाइ थियो।
‘जनताले चाहिँ कस्तो भने, कतै केही बोलेनन्। चुपचाप, एकदम साइलेन्ट बसे। उनीहरूको मनस्थिति बुझ्न सकिने अवस्था नै थिएन,’ कार्कीले सुनाइन्, ‘तर पछि मत दिएको देख्दा त हामीलाई पनि आश्चर्य लाग्यो र हामीलाई के महसुस भयो भने जनताले साँच्चै नै परिवर्तन चाहेको रहेछ।’








१३ बैशाख , २,०८३