नोटिफाई नेपालLoading...



नेपालमा वर्षेनी क्षयरोगीको संख्या बढ्दो छ । निको हुनेदर ७६ प्रतिशत भएपनि औषधी प्रतिरोधी क्षयरोगको जोखिम उत्तिकै छ । जोखिम कम गर्न नेपालमा क्षयरोगीको निको हुने दर ८५ देखि ९० प्रतिशतसम्म पुग्नुपर्ने चिकित्सक बताउँछन् । यो अवस्था नआएसम्म क्षयरोग समुदायमा सर्ने जोखिम कायमै हुन्छ ।
सन् २०१८ अघि उपलब्ध अनुमानित तथ्यांकअनुसार नेपालमा करिब ४२ देखि ४५ हजारसम्म क्षयरोगी रहेका थिए । झन्डै ११ सय औषधी प्रतिरोधी क्षयरोगी थिए। तर सन् २०१८ मा गरिएको प्रिभिलेन्स सर्वेक्षणले यो अनुमानभन्दा फरक अवस्था देखायो। सर्वेक्षणअनुसार करिब ६८ हजार क्षयरोगी र करिब तीन हजार औषधी प्रतिरोधी क्षयरोगी भेटिए। सोही आधारमा हिसाब गर्दा सन् २०१५ मा नेपालमा क्षयरोगीको संख्या करिब ७५ हजार पुगेको देखिन्छ।
सन् २०१८ यता नेपालमा क्षयरोगीको संख्या हरेक वर्ष करिब ६७ हजारदेखि ६८ हजारको हाराहारीमा रहेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार क्षयरोगी छन्। तर सर्वेक्षणले देखाएअनुसार सबै क्षयरोगी उपचारमा आउन सकेका छैनन्। गत आर्थिक वर्षमा मात्र ३९ हजार १ सय ५१ जना क्षयरोगी फेला परेका थिए।
औषधी प्रतिरोधी क्षयरोगको सन्दर्भमा सन् २०१८ मा करिब ३ हजार बिरामी रहेकोमा सन् २०२४ मा यो संख्या दुई हजार ४०४ मा झरेको देखिन्छ। तीमध्ये ६२५ जना औषधी सेवनमा रहेका बिरामी पहिचान भए पनि ४१८ जनाले मात्र नियमित औषधी सेवन गरिरहेका छन्। केन्द्रका अनुसार यस्तो क्षयरोग विशेषगरी विपन्न तथा उच्च जनघनत्व भएका प्रदेशहरूमा बढी देखिन्छ। पछिल्लो तथ्यांकले मधेश र बाग्मती प्रदेशमा औषधी प्रतिरोधी क्षयरोगका बिरामी बढी रहेको देखाएको छ।
राष्ट्रिय क्षयरोग केन्द्रका डा. नविन प्रकाश शाहका अनुसार सन् २०१८ देखि २०२६ सम्मको तथ्यांक हेर्दा औषधी प्रतिरोधी क्षयरोगीको संख्या उल्लेख्य रूपमा घटेको वा बढेको देखिँदैन। उनका अनुसार प्रिभिलेन्स सर्वेक्षणबाट प्राप्त तथ्यांक ठ्याक्कै संख्या नभई करिब पाँच सयदेखि एक हजारसम्मको फरक हुन सक्छ। त्यसैले २०१८ पछिको अवधिमा औषधी प्रतिरोधी क्षयरोग घटेको भन्न सकिने अवस्था छैन।
केन्द्रका अनुसार औषधी प्रतिरोधी क्षयरोगका बिरामीमध्ये निको हुने दर हाल ७६ प्रतिशत पुगेको छ, जुन २०१५ अघि ३५ देखि ४० प्रतिशत मात्रै थियो। यो दर अन्तर्राष्ट्रिय स्तरको तुलनामा उच्च भए पनि साधारण क्षयरोगको निको हुने दर (८५ प्रतिशत) भन्दा कम हो। डा. शाहका अनुसार निको हुने दर ८५ देखि ९० प्रतिशत नपुगेसम्म समुदायमा संक्रमण फैलिने जोखिम उच्च रहन्छ।
औषधी प्रतिरोधी क्षयरोगको जीवाणु साधारण क्षयरोगको तुलनामा बढी शक्तिशाली हुने भएकाले यसको प्रभाव गम्भीर र उपचार प्रक्रिया जटिल हुन्छ। यो रोग विशेषगरी १५ वर्षभन्दा माथिको सक्रिय उमेर समूहमा बढी देखिने भएकाले समुदायमा फैलिने जोखिम पनि उच्च हुन्छ।
चिकित्सकका अनुसार साधारण क्षयरोग हुँदा बिरामीले औषधी पूरा नगर्नु, पूरा डोज नलिनु, समयमै औषधी उपलब्ध नहुनु, पर्याप्त परामर्शको अभाव तथा औषधी सेवनमा नियमितता नहुनुजस्ता कारणले औषधी प्रतिरोधी क्षयरोग विकसित हुने गर्दछ।
नेपालमा यस रोगको पहिचानका लागि संक्रमित भेटिएपछि परिवारका सम्पर्क व्यक्तिहरूको खोजी गर्ने, समुदायस्तरमा शिविर सञ्चालन गर्ने कार्यक्रम जारी छन्। यद्यपि नियन्त्रणमा देखिएको खाडल पूर्ति गर्न खोजी र उपचार कार्यक्रमलाई अझ सुदृढ बनाउनु आवश्यक रहेको केन्द्रका निर्देशक डा. भुवन पौडेलले बताएका छन्। उनका अनुसार केन्द्रहरूमा तालिम विस्तार र सेवा सुदृढीकरणको काम भइरहेको छ।
औषधी प्रतिरोधी र साधारण क्षयरोगका लक्षण प्रायः उस्तै हुन्छन्। रोग पुष्टि भएपछि मात्र मोलिक्युलर परीक्षणमार्फत औषधी प्रतिरोधी क्षयरोग पहिचान गरिन्छ। लगातार खोकी लागिरहनु, खकारमा रगत देखिनु, दुब्लाउँदै जानु, साँझपख ज्वरो आउनु तथा खानामा रुचि कम हुनु यसका प्रमुख लक्षण हुन्।
यी लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्। समयमै पहिचान भई नियमित रूपमा औषधी सेवन गरेमा रोग निको हुन सक्छ। तर ढिला उपचारमा पुग्ने बिरामीहरूमा उपचारकै क्रममा मृत्यु हुने जोखिम पनि रहने भएकाले समयमै पहिचान र उपचार अत्यन्तै आवश्यक रहेको चिकित्सकहरू बताउँछन्।








२५ चैत , २,०८२