नोटिफाई नेपालLoading...



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सफलतापूर्वक सम्पन्न प्रथम ऐतिहासिक महाधिवेशनले आफ्नो पार्टीलाई औपचारिक रूपमा बलियो राजनीतिक शक्तिका रूपमा वैधानिकता प्रदान गरेको बताएका छन्।
चितवनमा आयोजित महाधिवेशनको समापन तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस ऐतिहासिक मोडले रास्वपालाई संस्थागत गरेको उल्लेख गरे।
सभापति लामिछानेले निर्वाचन र लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन भएसँगै पार्टीको वैधानिकता थप सुदृढ भएको बताए।
‘यो महाधिवेशनले रास्वपालाई एउटा आन्दोलन र लहरबाट माथि उठाएर राजनीतिक दलका रूपमा स्थापित र वैधानिक बनाएको छ,’ उनले भने, ‘अब हाम्रो सांगठनिक हैसियत थप परिपक्व र जिम्मेवार बनेको छ।’
उनले नयाँ दल भएका कारण महाधिवेशन आयोजना र संगठन सञ्चालनका क्रममा विभिन्न कमजोरी तथा त्रुटिहरू हुनु स्वाभाविक रहेको स्वीकार गरे।
ती कमजोरीप्रति संवेदनशीलता देखाउँदै उनले महाधिवेशन प्रतिनिधि, स्वयंसेवक र नेता–कार्यकर्ताहरूसँग क्षमायाचना समेत गरे।
रास्वपामा आबद्ध भएका नेता तथा कार्यकर्ताहरू फरक–फरक सामाजिक र व्यावसायिक पृष्ठभूमिबाट आएको चर्चा गर्दै लामिछानेले आगामी यात्रा अझ चुनौतीपूर्ण हुने औँल्याए।
‘हामी फरक पृष्ठभूमिबाट राजनीतिमा आएका हौँ,’ उनले भने, ‘त्यसैले हामीले विभिन्न युगका र सबै प्रकारका चुनौतीहरूको सामना गर्न तयार हुनुपर्छ।’
उनले महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न योगदान पुर्याउने सम्पूर्ण प्रतिनिधि, स्वयंसेवक र सहयोगीहरूलाई हार्दिक धन्यवाद दिए।
महाधिवेशनबाट प्राप्त सांगठनिक अनुभवलाई आत्मसात् गर्दै रास्वपालाई आगामी दिनमा थप परिपक्व, व्यवस्थित र जनउत्तरदायी राजनीतिक शक्तिका रूपमा अघि बढाउने प्रतिबद्धता समेत सभापति लामिछानेले व्यक्त गरे।







१२ असार , २,०८३