नोटिफाई नेपालLoading...



मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुनुका साथै कतिपय स्थानमा वर्षा हुने सम्भावना छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
यसैगरी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना छ। आज राति कोशी प्रदेशसहित देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ।
महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा केही तथा अन्य तराई भेगमा साधारणतया बादल रहने तथा बागमती र गण्डकी प्रदेश पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र रहने वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न मौसमविद्हरूले सुझाव दिएका छन्। तराई क्षेत्रमा तापक्रम बढ्ने भएका आवश्यक सतर्कता अपनाउन तथा मौसमविद्हरूले सुझाव पालना गर्न महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ।







२२ जेठ , २,०८३