नोटिफाई नेपालLoading...



जति बोले पनि, जति लेखे पनि र जति पढे पनि सबैको मनमा नजानिदो गरी बारम्बार आउने एउटा गहिरो प्रश्न हो– जीवनको अर्थ के हो ? यो प्रश्न जति सर्वत्र र सार्वकालिक छ, यसको जवाफ पनि त्यति नै बहुआयामिक छ। कसैका लागि जीवनको अर्थ सफलता हो, कसैका लागि परिवार, कसैका लागि सेवा र कसैका लागि आत्मज्ञान। वास्तवमा जीवनमा अर्थ आफैं बनेर आउने होइन, हामीले आफ्नो सोच, कर्म र चेतनाबाट त्यसलाई अर्थपूर्ण बनाउने हो। हिन्दु दर्शनले जीवनलाई बुझ्ने एउटा अत्यन्त सन्तुलित र गहिरो दृष्टिकोण दिएको छ। त्यो हो– चार पुरुषार्थ: अर्थ, धर्म, काम र मोक्ष। यी चार पक्ष जीवनलाई पूर्णता दिने आधार हुन्। जब यी चार तत्त्व सन्तुलनमा रहन्छन्, तब जीवन सार्थक, आनन्दमय र उद्देश्यपूर्ण बन्छ।
अर्थ (सम्पत्ति र समृद्धि): जिम्मेवार जीवनको आधार। जीवन चलाउन, परिवारको हेरचाह गर्न र समाजमा योगदान दिन आर्थिक स्रोत आवश्यक हुन्छ, यही नै अर्थ हो। आवास, शिक्षा, स्वास्थ्य र अन्य आवश्यकताहरू पूरा गर्न अर्थले मानिसलाई आधार दिन्छ तर हिन्दु दर्शनले केवल धन कमाउन मात्र भनेको छैन, ‘धर्मपूर्वक कमाएको अर्थ’लाई महत्त्व दिएको छ। यदि धन लोभ, छल वा अन्यायबाट कमाइयो भने त्यसले अस्थायी सुख त दिन सक्छ तर स्थायी शान्ति दिन सक्दैन। अर्थ कमाइसकेपछि त्यसको सही व्यवस्थापन र सुखभोग अनि दान, पुण्य र करुणाका कार्यमा खर्च हुनुपर्छ। अर्थ जीवनको आधार हो तर जीवनको अन्तिम लक्ष्य होइन। धनलाई साधन बनाउनु आवश्यक छ, साध्य होइन।
धर्म (कर्तव्य र नैतिकता): जीवनको दिशा हो धर्म। धर्म भनेको केवल धार्मिक कर्मकाण्ड होइन। धर्मको अर्थ हो– सत्य, जिम्मेवारी, न्याय, करुणा र सही मार्गमा चल्ने जीवन। धर्मले अर्थ र कामलाई सही दिशा दिन्छ। धर्मबिना कमाइएको धनले अहंकार ल्याउन सक्छ। धर्मबिना पूरा गरिएका इच्छाले अशान्ति निम्त्याउन सक्छ। हामी परिवारप्रति, समाजप्रति, प्रकृतिप्रति र आफ्नै आत्माप्रति जिम्मेवार छौं। यही जिम्मेवारीलाई धर्म भनिन्छ।
धर्मले हामीलाई सोध्छ– मैले जे गरिरहेको छु, त्यो सही छ कि छैन ? मेरो निर्णयले अरूलाई कस्तो असर पार्छ ? यही चेतनाले जीवनलाई मर्यादित र अर्थपूर्ण बनाउँछ।
काम (कर्म, इच्छा र आनन्द): कामलाई जीवनको रङ भन्न सकिन्छ। मानिस इच्छाबिना बाँच्न सक्दैन। प्रेम, खुसी, सिर्जनात्मकता, सपना, सम्बन्ध, सुन्दरता–यी सबै कामका रूप हुन्। यी सबै चिजमार्फत जीवनमा आनन्द आवश्यक छ। प्रकृतिको सौन्दर्य हेर्दा, प्रियजनसँग समय बिताउँदा, संगीत सुन्दा, अरूको सेवा गर्दा हामी खुसी अनुभव गर्छौं तर कामलाई पनि धर्मसँग जोडिनुपर्छ। जब इच्छा नियन्त्रणबाहिर जान्छ, लोभ र असन्तोष बढ्न सक्छ। त्यसैले धर्मले इच्छालाई मर्यादा दिन्छ र आनन्दलाई स्वस्थ बनाउँछ।
मोक्ष (मुक्ति र आत्मबोध): मोक्ष जीवनको उच्चतम उद्देश्य र सम्भावना पनि हो। चार पुरुषार्थमध्ये मोक्षलाई अन्तिम लक्ष्य मानिन्छ। मोक्ष भनेको संसार त्याग्नु मात्र होइन, यो भित्रको स्वतन्त्रता हो, अहंकार, डर, लोभ र मोहबाट मुक्त हुनु हो। जब मानिस आफ्नो वास्तविक स्वरूप चिन्छ, तब उसले बुझ्छ कि वास्तविक शान्ति बाहिर होइन, भित्र छ। मोक्ष भनेको जीवनबाट भाग्नु होइन, जीवनलाई पूर्ण चेतनासहित स्वीकार गर्नु हो। मोक्षको अवस्थामा मानिस संसारमा रहन्छ, काम गर्छ, सम्बन्ध निभाउँछ तर भित्र शान्त र स्वतन्त्र रहन्छ।
सबै आयाममार्फत जीवनमा सन्तुलनको आवश्यकता रहन्छ। यी चार पुरुषार्थ एकअर्काका विरोधी होइनन्, पूरक हुन्। धर्मसहित अर्थ कमाउनु, जिम्मेवारीपूर्वक जीवनको आनन्द लिनु र भित्र आत्मज्ञानतर्फ अघि बढ्नु, यही सन्तुलित जीवन हो। धन मात्र कमाउने लक्ष्य बन्यो भने जीवन यान्त्रिक हुन सक्छ। इच्छा मात्र पछ्यायौं भने अस्थिरता आउन सक्छ। जिम्मेवारी त्यागेर केवल आध्यात्मिकताको नाममा भाग्यौं भने पनि असन्तुलन आउन सक्छ। पूर्ण जीवनको अर्थ सबै पक्षलाई सम्मानपूर्वक सन्तुलनमा राख्नु हो।
संगत र मनको सम्बन्ध
जीवनको यात्रामा संगतको गहिरो प्रभाव हुन्छ। मनले जुन कुरासँग सम्बन्ध बनाउँछ, उतैतिर जान थाल्छ। सही संगतले चेतना माथि उठाउँछ। गलत संगतले बाटो भुलाउन सक्छ। हामी के सोचिरहेका छौं, के हेरिरहेका छौं, कसको प्रभावमा छौं– यसले हाम्रो निर्णय र जीवनको दिशा निर्धारण गर्छ। सकारात्मक विचार, असल मानिसहरूको साथ, प्रेरणादायी वातावरण र आत्मानुशासनले जीवनलाई सही यात्रामा लैजान्छ। एउटा भोकाएको मानिसलाई स्याउ दिइयो भने उसले तत्काल सन्तुष्टि पाउँछ, भोक मेटिन्छ। त्यो आवश्यकता पनि हो। केही समयपछि फेरि भोक लाग्छ, आनन्द महसुस गर्दैन। यसले के देखाउँछ भने बाहिरी वस्तुले क्षणिक सन्तुष्टि दिन्छ तर स्थायी आनन्द दिन सक्दैन। जीवनका धेरै उपलब्धि पनि यस्तै हुन्छन्। धन, पद, प्रशंसा सबैको महत्त्व छ तर तिनले मात्र मनको खालीपन भरिँदैन। वास्तविक आनन्द तब आउँछ, जब हामी आफैंभित्र जोडिन्छौं। त्यसैले प्रश्न उब्जिन्छ– वास्तविक खुसी कहाँ छ ? हामी प्रायः बाहिर खुसी खोज्छौं– मान्यता, सफलता, सम्बन्ध वा वस्तुमा। यी सबै आवश्यक हुन सक्छन् तर यिनले मात्र पूर्णता दिन सक्दैनन्। वास्तविक खुसी हामीभित्रको शान्ति, स्वीकार र आत्मबोधमा हुन्छ। बाहिरी कुराले केही अंश खुसी दिन सक्छ तर गहिरो आनन्द भित्रैबाट जन्मिन्छ। जब हामी आफैंसँग जोडिन्छौं, मन शान्त हुन्छ, अशान्ति कम हुन्छ। एक–अर्काबिचको तुलना घट्छ र जीवनप्रति कृतज्ञता बढ्छ।
ध्यान: भित्र फर्किने बाटो
सबै आयामलाई बुझेपछि र बोध गरेपछि ध्यानको अभ्यास पनि जरुरी छ। ध्यान आत्मबोधको सहज माध्यम हो। ध्यानले मनलाई रोक्दैन तर बुझ्न सिकाउँछ। विचार आउँछन्, जान्छन्, हामी साक्षी भएर हेर्न सिक्छौं। बिस्तारै मन स्थिर हुन्छ। भित्री आवाज स्पष्ट हुन्छ। ध्यानले हामीलाई बाहिरी कोलाहलबाट भित्रको मौनतामा पु¥याउँछ। त्यहाँ हामी आफैंलाई भेट्न थाल्छौं। त्यहींबाट आत्मविश्वास, करुणा, धैर्य र स्थायी आनन्द जन्मिन्छ।
आत्मबोध र सफलता
जब मानिस आफ्नै वास्तविक स्वरूपसँग जोडिन थाल्छ, तब उसको जीवनमा गहिरो परिवर्तन आउँछ। आत्मबोध भनेको आफूलाई बाहिरी परिचय– नाम, पद, सम्पत्ति, प्रशंसा वा अरूले बनाएको छविभन्दा परबाट चिन्नु हो। म वास्तवमा को हुँ ? मेरो जीवनको उद्देश्य के हो ? मेरो भित्री सत्य के भन्छ ? भन्ने प्रश्नसँग इमानदार भएर जोडिनु नै आत्मबोधको सुरुवात हो। धेरैजसो समय मानिस बाहिरी उपलब्धि, अरूको अपेक्षा वा तुलनाभित्र हराइरहेको हुन्छ। उसले सफलता त पाउँछ तर भित्र शान्ति हुँदैन किनकि त्यो यात्रा आफ्नै सत्यबाट होइन, दबाब, डर वा स्वीकार्य खोज्ने मनबाट चलेको हुन्छ। जब मानिस आत्मबोधमा पुग्छ, ऊ आफूलाई गहिरोसँग बुझ्न थाल्छ। उसले आफ्ना शक्ति र कमजोरी दुवैलाई स्विकार्छ। उसले अरूको बाटो होइन, आफ्नो बाटो देख्न थाल्छ। यही स्पष्टताले जीवनलाई नयाँ अर्थ दिन्छ। त्यसपछि काम केवल जिम्मेवारी पूरा गर्ने बाध्यता हुँदैन, त्यो उद्देश्यपूर्ण कर्म बन्छ। मानिसले जे गर्छ, बुझेर गर्छ। उसले आफ्नो क्षमताको सही उपयोग गर्न थाल्छ। निर्णय हतारमा होइन, विवेकका साथ हुन्छ किनभने उसले बाहिरी आवाजभन्दा भित्री चेतनाको आवाज सुन्न सिकेको हुन्छ। यस्तो अवस्थामा चुनौती आए पनि मन धेरै विचलित हुँदैन। असफलता आए पनि ऊ पूर्ण रूपमा भाँचिँदैन किनकि उसको आत्मविश्वास अरूको प्रशंसा वा परिणाममा मात्र अडिएको हुँदैन।
आत्मबोधले सम्बन्धलाई पनि रूपान्तरण गर्छ। जब मानिस आफैंसँग जोडिएको हुन्छ, उसलाई प्रेम मागिरहनुपर्दैन। ऊ प्रेम बाँड्न सक्षम हुन्छ। सम्बन्ध स्वार्थ, नियन्त्रण वा अपेक्षामा होइन, समझदारी, सम्मान र करुणामा आधारित हुन थाल्छ। ऊ अरूलाई बदल्न खोज्नुभन्दा बुझ्न खोज्छ। उसले आफ्नो अहंकारलाई केही पर राखेर सुन्न र स्वीकार गर्न सिक्छ। यस्ता सम्बन्धमा गहिराइ र विश्वास दुवै बढ्छ। निर्णय गर्ने क्षमतामा पनि ठुलो परिवर्तन आउँछ। डर, असुरक्षा वा समाजको दबाबले होइन, भित्री स्पष्टता र विवेकले निर्णय लिन सक्नु आत्मबोधको चिह्न हो। सफलता भनेको भित्र सन्तुष्टि हुनु, आफूले गरेको कर्ममा अर्थ अनुभव गर्नु, सम्बन्धमा प्रेम हुनु र मनमा शान्ति हुनु पनि हो। बाहिर उपलब्धि आउँछ तर त्यससँगै भित्र स्थिरता पनि रहन्छ। तुलना कम हुन्छ, कृतज्ञता बढ्छ। दौडिरहनुपर्ने बाध्यता घट्छ र सचेत भएर अघि बढ्ने क्षमता बढ्छ। अन्ततः आत्मबोधले सिकाउँछ कि वास्तविक सफलता अरूभन्दा माथि पुग्नु मात्र होइन, आफूभित्रको सत्यसँग जोडिएर, स्पष्टता, प्रेम र विवेकसाथ जीवन जिउन सक्नु हो।






२२ जेठ , २,०८३