नोटिफाई नेपालLoading...



आजदेखि देशभरका सिनेमाघरमा राजु शाहको निर्देशन रहेको चलचित्र ‘जाँड’ प्रदर्शनमा आएको छ। शुक्रबार प्रदर्शनअन्तर्गत यो चलचित्र आजदेखि सिनेमाघरहरूमा आएको हो।
चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने निर्माणपक्षले जनाएको छ। चलचित्र ‘जाँड’ले मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने असरलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले जाँड सेवन गर्ने व्यक्तिको व्यवहारले परिवारमा सिर्जना गर्ने समस्याका साथै पत्नी, छोरी र समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई यथार्थपरक ढंगले चित्रण गरेको देखिन्छ।
चलचित्रले मद्यपानको लतले पारिवारिक सम्बन्धमा ल्याउने दरार मात्र होइन, नेपाली समाजमा अझै विद्यमान ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत सोचमाथि पनि प्रश्न उठाएको छ। छोराप्रतिको मोह तथा छोरीलाई हेर्ने विभेदपूर्ण दृष्टिकोणका कारण परिवार र समाजमा देखिने समस्या, त्यसविरुद्धको आवाजलाई चलचित्रले कथावस्तुको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ।
राजेन्द्र भट्टको निर्माणमा बनेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाललगायत कलाकारको अभिनय छ।
सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार पारेका हुन्। चलचित्रका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहेका छन्।चलचित्रको मुख्य सहायक निर्देशकमा शम्भु गौतम र किशोर डंगोल रहेका छन् भने नरेन्द्रकुमार केसी सहनिर्देशकको भूमिकामा छन्।
दिपेन बस्न्यातले छायांकन तथा सम्पादन गरेको चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन छ। निर्माण नियन्त्रकको जिम्मेवारी सुनिलप्रसाद श्रेष्ठले सम्हालेका छन्। चलचित्रमा श्रीपुरुष ढकालका शब्द, रोशन बालुवाको संगीत तथा स्वर समावेश छ।





-1782474458.jpg)

१२ असार , २,०८३