नोटिफाई नेपालLoading...



अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्ले कार्यपालिकालाई समग्र म्यान्डेट प्रदान गर्ने भएकाले आवश्यक परे सरकार गठनदेखि विघटनसम्मको अधिकार प्रतिनिधिसभासँग रहने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद खुश्बु ओली ले उठाएको प्रश्नको जवाफ दिँदै उनले वेस्टमिन्स्टर संसदीय प्रणालीको अभ्यासबारे स्पष्ट पारेका हुन्।
उनले संसद् नै प्रधानमन्त्री नियुक्त गर्ने र सरकार बनाउने–ढाल्ने मुख्य थलो भएको उल्लेख गर्दै भने, “वेस्टमिन्स्टर प्रणालीमा संसद् सार्वभौम हुन्छ, मन नपरेको खण्डमा सरकार नै ढाल्न सकिन्छ। तर बहुमतीय प्रणालीमा अंकगणित र स्थापित राजनीतिक मान्यताहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।”
वाग्लेले दैनिक प्रशासनिक र नीतिगत सबै निर्णय संसद्मै ल्याउन सम्भव नहुने भएकाले लामो संसदीय अभ्यासबाट केही अधिकार कार्यपालिकालाई प्रत्यायोजन गरिएको बताए। उनले कार्यपालिकाले गरेका निर्णय र सम्झौतामा अन्ततः संसद्ले नै अनुमोदन वा अस्वीकृति गर्ने व्यवस्था धेरै लोकतान्त्रिक मुलुकमा रहेको पनि उल्लेख गरे।
उनका अनुसार संसद् नै अन्तिम कानुन निर्माण गर्ने सर्वोच्च संस्था हो र आवश्यक परे विद्यमान व्यवस्था परिवर्तन गर्ने अधिकार पनि प्रतिनिधिसभासँग सुरक्षित रहेको छ।







१२ असार , २,०८३