नोटिफाई नेपालLoading...



सत्तारुढ भिक्टर अर्वानलाई निर्वाचन हराएकै दोस्रो दिन हंगेरीका नवनिर्वाचित प्रधानमन्त्री पेटर मग्यारले सारा विश्वलाई सुनाउँदै सम्बोधन गर्दै भने, ‘हामी कानुनी राज्य, बहुलवादी प्रजातन्त्र तथा व्यवस्थालाई सन्तुलनमा राख्ने प्रणाली अपनाउनेछौं।’
उनले थपे, ‘पुरानो कम्युनिस्ट युगमा झैं प्रमाणहरू नष्ट गर्न पुराना सत्ताका खेलाडीहरू तल्लीन छन् । चौथो दिन उनी बहालवाला राष्ट्रपति तामास सुल्योक कहाँ पुगे र भने, ‘छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्ने वातावरण मिलाइदिनुस् र तपाईं आफैं पनि पदबाट राजीनामा दिएर सहयोग पुर्याउनुस्) (बिबिसी, अप्रिल १५, २०२६)।’ वास्तवमा उनी धेरै हतारमा देखिएका छन्। यो हुटहुटीलाई भिन्न मानिसहरूले भिन्न अर्थमा लिएका छन्। यद्यपि युरोपेली संघ र मिडिया हाउसहरू भने मग्यारको विजयलाई लिएर सबैभन्दा खुसी देखिएका छन्। त्यसको मूल कारण भनेको अब उनको जितले हंगेरी अब युरोपेली संघको पक्षमा हुनेछ। नाटोको पक्षमा हुनेछ। युक्रेनलाई युरोपेली संघले दिने भनेको ९० अर्ब डलरको वित्तीय सहयोग प्याकेजमाथि अर्वानले लगाएको भिटो फिर्ता लिनेछ, युरोपेली एकतामा सहयोग पुग्नेछ भनेर खुसी भएका जनाएका छन्।
हंगेरी पूर्वी युरोपेली भूपरिवेष्टित सानो राष्ट्र हो तर यो युरोपेली महाद्वीपमा मात्र होइन, सारा संसारमै निवर्तमान प्रधानमन्त्री भिक्टर अर्वानको दक्षिणपन्थी लोकप्रियतावादी शासन पद्धतिको कारण चर्चित बन्न पुग्यो। अर्वानले जुन विचारको व्यवहारमा सुरुवात गरे, त्यो दक्षिणपन्थी लोकप्रियतावाद भनिन्छ। उदारवादी विचार, सत्तारुढ सम्भ्रान्त र मिडियाविरुद्ध राष्ट्रवादी भएर, विकासका सस्ता नारा लगाउँदै, सामान्य जनताको पक्षमा भन्दै ‘हामी’ विरुद्ध ‘तिनीहरू’को नारा लगाएर समाजलाई विखण्डित तुल्याएर सफलतापूर्वक सत्तारुढ हुन पुगेका थिए भिक्टर अर्वान।
भिक्टर अर्वान (सन् २०१०–२०२६) वर्तमान युरोप र अमेरिकामा दक्षिणपन्थी लोकप्रियतावाद अर्थात् दक्षिणपन्थी अनुदारवादी शासन व्यवस्थाको खाका (ब्लुप्रिन्ट) तयार पार्ने (खल) नायकका रूपमा स्थापित हुन पुगे तर यो अनुदारवाद खाली ठाउँ पूर्ति गर्ने उद्देश्यले मात्र आएको भने होइन। अहिलेको दक्षिणपन्थी अनुदार लोकप्रियतावाद हुर्कनु र विस्तार हुनुमा सबैभन्दा मूल कारक तत्त्व सन् २००८ को अमेरिकी वित्तीय संकटबाट सुरु भएको थियो । त्यसपछि सन् २०१२ मा युरोपेली आर्थिक संकट र सन् २०१५ मा तीव्र बसाइँसराइको संकट। वास्तवमा वित्तीय संकटले अमेरिका र युरोपको जनजीवनमा भीमकाय आर्थिक संकट निम्त्यायो। त्यो आर्थिक संकटको मूल्य राजनीतिक संकट निम्त्याउँथ्यो नै।
खासगरी युरोपेली मध्यम वर्गमा आर्थिक असुरक्षाको भावना पैदा हुन पुग्यो। यो वर्गलाई विगतका भूमण्डलीकरण तथा बसाइँसराइले छोएको थिएन। मध्यम वर्गले आर्थिक कठिनाइ झेल्नुपरेपछि सार्वजनिक बहस नै उल्टियो। संस्थागत रूपमा स्थापित पुराना पार्टीहरूबाट समस्या समाधान हुन सक्दैन भन्ने भाष्य अमेरिका र युरोपेली मुलुकहरूमा विस्तार हुन पुग्यो (युरोपियन सेन्टर फर पपुलिज्म स्टडिज (इसिपिएस), २०२५)।
हंगेरीमा अर्वानको उदय र सुधार
सन् १९८९ मा पूर्वी युरोपेली समाजवाद ढल्न लागिरहेको थियो। त्यो बेला भिक्टर अर्वानले कम्युनिस्ट आन्दोलनको विरोधमा बुडापेस्टको हिरोज स्क्वायरमा सोभियत रेड आर्मी ‘घर जाऊ’ भन्ने नारासहित १० मिनेटको भाषण गर्न भ्याएका थिए। त्यसको लगत्तै उनलाई जर्ज सोरोस फाउन्डेसनबाट अध्ययनका लागि छात्रवृत्ति मिल्यो। उनी अक्सफोर्डमा केही महिनाका लागि उदारवादी राजनीतिक दर्शन अध्ययन गर्न लन्डन गए । केही महिनापछि फर्केर उनले हंगेरियन सिभिल अलायन्स (फिदेज) बनाए।
कम्युनिस्ट शासन ढलेपछि सन् १९९० मा भएको पहिलो आम निर्वाचनमा फिदेजले २२ सिट हासिल गर्यो र जुनियर पार्टनरका रूपमा दक्षिणपन्थीहरूसँग मिलेर सरकारमा सामेल भयो । सन् १९९४ मा अर्वान पार्टीको नेता बने र उनले ग्लोबल लिबरल इन्टरनेसनल मुभमेन्टसँग आफ्नो पार्टीलाई जोडे। सन् १९९४ मा चुनाव नजिते पनि १९९८ मा अर्वान ३५ वर्षकै उमेरमा प्रधानमन्त्री बन्न पुगे र त्यही वर्ष अमेरिकाका राष्ट्रपति बिल क्लिन्टनलाई भेटेर सन् १९९९ मा हंगेरीलाई नाटोमा भित्र्याए तर सन् २००२ र २००६ मा सम्पन्न भएका आवधिक निर्वाचनमा उनको पार्टीले चुनाव हार्यो तर सन् २०१० मा उनको पार्टीले निर्वाचन जित्यो र उनी पुनः सत्तामा फर्किए तर उनको पार्टी फिदेज पुरानो उदारवादी सिद्धान्तमा आधारित पार्टी थिएन, त्यो अनुदारवादी प्रजातन्त्र र क्रिश्चियन मुक्तिदाताका रूपमा फेरिएको थियो। उनले अनवरत रूपमा अर्को १६ वर्ष प्रधानमन्त्रीका रूपमा हंगेरीलाई हाँके। उनका क्लासमेटहरू, उनका जिग्री साथी र सल्लाहकारहरूले अर्वानलाई शिक्षित, बौद्धिक, गहिरो ज्ञान भएको मान्छेका रूपमा सम्झन्छन् (बिबिसी, १४ फेब्रुअरी २०२४)।
सन् २०१० मा सत्तामा आउनेबित्तिकै उनले सार्वजनिक प्रशासन कानुनलाई निलम्बन गरे र अनावश्यक ठानिएका प्रशासकहरू हटाए, खासगरी सार्वजनिक मिडिया (रेडियो, टेलिभिजन, राष्ट्रिय समाचार समिति आदि)। निजी क्षेत्रका मिडियाहरूलाई विज्ञापन कटौती गरियो। दोस्रो सुधार निर्वाचन कानुन तथा निर्वाचन क्षेत्रमा गरियो र आफ्नो समर्थकहरूको क्षेत्र मिलाएर निर्वाचन क्षेत्र तयार पारियो। यसका लागि आवश्यक पर्ने दुईतिहाइ बहुमत फिदेज पार्टीकै थियो। आफूलाई फाइदा पुग्ने गरी पार्टीले दुईतिहाइको बलमा संविधान संशोधन गर्यो। संशोधनपछि बनाइएका कानुनमार्फत उनले बिस्तारै लोकतान्त्रिक संस्थाहरू कमजोर बनाउँदै लगे। सार्वजनिक संस्थाहरूमा रोजगारी कटौती गरियो, ज्याला घटाइयो र वस्तु तथा सेवालाई विश्वव्यापी उत्पादन पद्धतिसँग जोडियो। वास्तवमा यो ट्रेड युनियन अधिकारबाट मजदुरहरूलाई वञ्चित बनाउने तरिका थियो तर उनले यस प्रक्रियालाई ‘वर्क बेस्ड सोसाइटी’को निर्माण भने। बिस्तारै विद्यालय शिक्षा, विश्वविद्यालय तथा स्वास्थ्य क्षेत्रलाई निजी क्षेत्रमा जिम्मा लगाइयो। अर्वानको सरकारले ३०० भन्दा बढी धार्मिक संस्थाहरूलाई बाहिरबाट रकम भित्र्याउँदा कर छुट हुने व्यवस्था गर्यो। आफू र आफ्नो पार्टीलाई फाइदा दिने वित्तीय तथा आर्थिक संस्थाहरूको संरक्षण गरियो र अटेर गर्नेलाई मुलुकमा टिक्न नसक्ने वातावरण बनाउन थालियो। अर्वानले घोषित रूपमा आफूलाई अनुदार प्रजातन्त्र तथा क्रिश्चियनहरूको नेता भन्दै राज्यलाई पारिवारिक राज्यमा रूपान्तरण गर्दै लगे (न्युयोर्क टाइम्स, अप्रिल ६, २०१८)।
राहत कटौती (अस्टेरिटी प्याकेज) को विरोध गरेर सत्तामा आएका अर्वानले सत्तामा पुगेपछि युरोपेली युनियनको मापदण्डअनुसार राहत कटौती लागु गरे र विश्वकै सबैभन्दा उच्च दरको मूल्य अभिवृद्धि कर (फ्ल्याट ट्याक्स) लगाए। उनको १६ वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य मात्र होइन, रेलवेलगायत सार्वजनिक यातायात पनि कमजोर हुन पुग्यो। धनी र मध्यम वर्गका लागि कर छुटको व्यवस्था मिलाइयो। यसले असमानता, गरिबी र अशिक्षामा वृद्धि भयो र समग्र उत्पादनमा शिथिलता आयो। वास्तवमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, फ्रान्सेली नेतृ मारिन ले पेन, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीजस्ता नेताहरू अर्वानको समर्थनमा हंगेरी पुगे पनि वर्षौंदेखि आर्थिक अवरुद्धता, मुद्रास्फीति, कमजोर पूर्वाधार, शिक्षा र स्वास्थ्यको अधोगति भोगिरहेका हंगेरियनहरूले यस पटक अर्वानको दक्षिणपन्थी लोकप्रियतावादी सत्तालाई फेरि पुरस्कृत गर्न रुचाएनन्।
आर्थिक अवरुद्धता
अर्थतन्त्र ओरालो लाग्नमा भ्रष्टाचार र अव्यवस्थापन जिम्मेवार कारक तत्त्वभित्र त पर्छ नै, तर अर्थतन्त्र धरापमै पर्नुमा नीतिगत कारण मुख्य कारक हुन्छ। युरोपको भूपरिवेष्टित, सानो र सीमित प्राकृतिक स्रोत भएको मुलुकको विकास वास्तवमा वैदेशिक लगानी र दक्ष जनशक्ति परिचालनमार्फत रेमिट्यान्स नै आय आर्जनको मूल स्रोत हो भन्नेमा दुई मत थिएन तर सरकारले अख्तियार गरेको धरातलमा टेक्न नसकेको आर्थिक मोडल, संरचनात्मक कमजोरी, स्वार्थमा आधारित क्रोनीहरूमा सीमित आर्थिक वितरण, अत्यधिक केन्द्रीकृत नियन्त्रण, नयाँ उत्पादकत्व र अन्वेषणको अभाव आदि कारण आर्थिक अवरुद्धता निम्तियो।
सन् २००० को दशकमा जर्मनीले इलेक्ट्रिकल कार फ्याक्ट्री खोलेको थियो, जसलाई सरकारले कर छुट पनि दियो । तर युरोपमा फैलिएको माग कमजोर हुन पुग्यो र बिक्री घट्यो। यसले उत्पादन लागत बढ्न पुग्यो। युरोपको बजारलाई ध्यानमा राखेर सरकारले चिनियाँ ब्याट्री कम्पनीलाई लगानी गर्न आग्रह गर्यो तर यो लगानीले पनि सफलता प्राप्त गर्न सकेन। सन् २०२३ मा युरोपेली मुलुकहरूमा गरिने चिनियाँ लगानीमध्ये हंगेरीमा ४३ प्रतिशत छुट्याइएको थियो । तर पर्याप्त पूर्वाधारको अभाव, इन्धन क्षमता र ब्याट्रीको इकोसिस्टममा धान्न सक्ने मजदुर चाहिन्थ्यो । पछिल्लो समय युक्रेन युद्धका कारण युरोपभरि इन्धन संकट आइपर्यो र जर्मनीले इभी गाडीमा दिइरहेको अनुदान कटौती गर्यो, जसका कारण इभी प्रोजेक्ट नै लथालिंग हुने अवस्थामा पुग्यो।
यो असफलताले सन् २०२२ सम्ममा वास्तविक ज्याला १५.६ प्रतिशतले घट्न पुग्यो, जबकि ओइसिडी मुलुकहरूमा जम्मा ३.८ प्रतिशतले मात्र ज्याला घटेको थियो । सन् २०२३ मा अत्यधिक मुद्रास्फीति बढ्यो, यसले हंगेरियनहरूको क्रय क्षमता घटायो । अर्वान सरकारले यसको दोष युरोपेली सरकारले रसियामाथि लगाएको आर्थिक प्रतिबन्ध र युद्ध थोपर्ने बाइडेन प्रशासनलाई दियो । त्यसको बदलामा युरोपेली संघले आफ्नो कोषबाट हंगेरीलाई दिने रकम रोकी दियो । यसले अर्वान सरकारको साख घट्न पुग्यो।
सरकारले सन् २०२४ मा ‘फ्लाइङ स्टार्ट’ नामक रणनीतिक कार्यक्रम अगाडि सार्यो तर प्रयोगमा आएन। वृद्धिदर घट्यो । पाँच वर्ष अघिको तुलनामा २० प्रतिशतले लगानी घट्यो। सँगसँगै रोजगारी घट्यो, खाद्यान्न लगायत अन्य वस्तुको मूल्य ५.९ प्रतिशतले बढ्यो । मतदाताहरूले यसको सारा दोष सरकारलाई दिनु अस्वाभाविक थिएन।
मग्यारको उदारवाद
अप्रिल १२, २०२६ का दिन भएको आम निर्वाचनमा ४५ वर्षीय पिटर मग्यारको पार्टी तिस्जाले (रेस्पेक्ट एण्ड फ्रिडम पार्टी) कुल मतको ५३ प्रतिशत मत हासिल गरेको थियो। यतिबेला उनी माथि उल्लेख गरिएझैं सत्तामा पुगेर सबैभन्दा पहिला भ्रष्टाचार विरोधीहरूमाथि कारबाही चलाउन चाहेको, झुठको खेती गरिरहेका सार्वजनिक मिडियाहरूमा सुधार ल्याउन खोजेको कुरा उनले प्राथमिकतामा रहेको बताएका छन्।
दोस्रो प्राथमिकतामा उनी युरोपेली संघसँग सम्बन्ध बनाएर हंगेरीका नाममा फ्रिज गरिएको रकम हासिल गर्ने रहेको छ र पब्लिक प्रोसिक्युटर अफिससँग समन्वय गरी अदालतलाई स्वतन्त्र न्यायालयका रूपमा स्थापित गर्न चाहेका छन् । तेस्रोमा, उनले प्राप्त गरेको दुईतिहाइभन्दा बढी बहुमत (१९९ सिटको संसद्मा १३८ मत) प्रयोग गरेर एउटा व्यक्तिले दुई कार्यकालभन्दा बढी समय उठ्न नपाउने बनाउने भएका छन्।
भन्नलाई शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण गर्ने जस्ता विषयमा राज्यको दायित्व रहने कानुन निर्माण गर्ने बताएका छन्। अन्तमा सन् २०३५ सम्ममा रुससँगको खनिज तेल र ग्यासमाथिको परनिर्भरता हटाउन वैकल्पिक उपायको खोजी गर्ने लक्ष्य रहेको बताएका छन् (बिबिसी, १९ अप्रिल २०२६)।
विश्वविद्यालयको अध्ययन सकेपछि मग्यारले सन् २००२ मा अर्वानको पार्टी फिदेजमा जोडिए । उनी कानुन व्यवसायीका छोरा थिए र आफैं पनि वकिल थिए। सन् २००३ मा उनले कानुन व्यवसायी जुडित भार्गासँग बिहे गरे, कालान्तरमा तीन बच्चा पनि भए। जुडित २०१९ मा अर्वान सरकारको कानुनमन्त्री बनाइन् । अर्वानले मग्यारलाई हंगेरीको तर्फबाट युरोपेली पर्मानेन्ट मिसनको प्रमुख बनाएर पठाए। पछि युरोपेली संसद्को सदस्य बनाए । त्यसपछि उनलाई राज्य नियन्त्रित सार्वजनिक संस्थाहरूको बोर्डमा पुर्याइयो। यस हिसाबले मग्यार अर्वान शासनबाट सबैभन्दा लाभान्वित हुने व्यक्तिहरूमध्ये थिए । उनले प्रत्यक्ष राजनीति आफ्नी श्रीमतीसँग सन् २०२३ मा पारपाचुके गरेपछि सुरु गरे।
मग्यारको उत्थान अचानकजस्तो देखिए तापनि फिदेज पार्टीको आर्थिक दिवालियापन र सामाजिक भ्रष्टताका कारण सुरु भएको थियो। पेडोफाइल स्क्यान्डल नामक एउटा अति घृणित कुकाण्डको पर्दाफास हुन पुग्यो। त्यो काण्डमा कानुनमन्त्री जुडित भार्गा र तत्कालीन राष्ट्रपति कतालिन नोभाक मुछिए। त्यो काण्डलाई मग्यारले एउटा युट्युब अन्तरवार्तामार्फत प्रमाणसहित बाहिर ल्याए।
यो प्रमाण उनले कानुनमन्त्री रहेकी श्रीमतीले विभिन्न समयमा गरेको टेलिफोन वार्ताको टेप रेकर्डमार्फत ल्याएका थिए, जसले गर्दा उनकी श्रीमती र राष्ट्रपति दुवैको जागिर गएको थियो । गर्गेली गुल्यास, जो पहिलेका हंगेरियन न्यायाधीश थिए र अर्वानको मन्त्रीमण्डलमा सामेल थिए, उनले त्यो घटनापछि भने मग्यारले ब्रसेल्सको एजेन्ट भएर पहिले आफ्नो परिवारलाई र पछि मुलुकलाई नै धोका दिए (बिबिसी, १३ अप्रिल २०२६)।
मग्यारले २०२४ मा तिस्जा पार्टी खोले र युरोपेली संसद्को निर्वाचनमा भाग लिए, जसमा उनको पार्टीले पहिलो पटकमै २९.६ प्रतिशत मत प्राप्त गरेर सात सिट हासिल गरेको थियो। त्यसपछिका दुई वर्षभरि उनले देशभरि गाउँ र साना–ठूला सहरहरूमा टुर गरे। उनलाई फिदेज पार्टीका एलिटहरूको व्यक्तिगत चरित्र, तिनीहरूले गरेको भ्रष्टाचार र दुराचार, तिनीहरूले अपनाएका कमजोर नीतिगत अभ्यासबारे जानकारी थियो। सबै उजागर गरिदिए।
सबैभन्दा बुझिने कुरा त मानिसहरूले भोगेको पूर्वाधार विकासको कमजोरी र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको कमी तथा लापरबाही प्रमुख थियो। विकल्पमा उनले मान्छेलाई छुने राष्ट्रवादी, स्वाधीन अर्थतन्त्र र प्रो–बिजनेस टेक्नोक्य्राटिक कार्यक्रम अगाडि सारे।
यद्यपि उनको आर्थिक तथा सामाजिक कार्यक्रम दिग्भ्रमित मिश्रणजस्तो देखिन्छ। जस्तो अर्बपतिहरूको आयआर्जनमाथि १ प्रतिशत मात्र कर लगाउने घोषणा एकातर्फ र अर्कोतर्फ सामाजिक आवास, शिक्षा र स्वास्थ्य राज्यको दायित्व लिनुपर्ने विषय कतै मेल खाएको देखिँदैन। उपभोगमा आधारित महँगो फ्ल्याट ट्याक्स (भ्याट) लगाएर सामाजिक न्याय दिन सकिँदैन भन्ने कुरा पनि मतदाताहरूले नबुझेका होइनन्।
हंगेरियनसहित बहुसंख्यक युरोपेलीहरू उनको आर्थिक र सामाजिक विचारलाई अर्वानको आर्थिक कार्यक्रमकै निरन्तरतामा थोरै परिवर्तन गरेर प्रस्तुत गरिएको ठान्छन्। मग्यार नेतृत्वको सरकारले मुलुकमा आर्थिक–सामाजिक रूपमा कायापलट ल्याउँछ भन्नेमा हंगेरियनहरू पूर्ण रूपमा विश्वस्त देखिँदैनन्। यद्यपि रसियाली समर्थक अर्वान युगको पतन तथा युरोपेली दक्षिणपन्थी लोकप्रियतावादलाई ठुलो धक्का लागेकोमा भने खुसी देखिन्छन्।







१३ बैशाख , २,०८३