नोटिफाई नेपालLoading...



सहरहरू केवल भवन, सडक र पूर्वाधारका संरचना होइनन्, ती मानव सभ्यताको सपना, सम्भावना र भविष्यका प्रतिविम्ब हुन्। कुनै पनि राष्ट्रको विकासको स्तर उसका सहरहरूको अवस्था, समावेशिता, वातावरणीय गुणस्तर र नागरिकको जीवनस्तरबाट मापन गरिन्छ। आज नेपालका सहरहरू, विशेष गरी काठमाडौं, पोखरा, भरतपुर, विराटनगर, नेपालगन्ज र धनगढी तीव्र सहरीकरण, जलवायु परिवर्तन, वातावरणीय प्रदूषण तथा सामाजिक असमानताका चुनौतीको सामना गरिरहेका छन्। यस्तो अवस्थामा प्रश्न उठ्छ– हामी कस्तो सहर भावी पुस्तालाई हस्तान्तरण गर्दै छौं?
सोचको काठमाडौं
सन् २०१७ मा काठमाडौं महानगरपालिकाले काठमाडौंलाई स्मार्ट सिटी बनाउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको थियो। भूमिगत पार्किङ, डिजिटल सेवा प्रवाह, स्मार्ट सार्वजनिक शौचालय, साइकल लेन, मोनोरेल, मेट्रो रेल, केबलकार, विद्युतीय पार्किङ प्रणाली तथा प्रविधिमैत्री नगर व्यवस्थापनका अवधारणाले आधुनिक काठमाडौंको चित्र कोरेका थिए। त्यसबेला ती योजनाहरूले विकासप्रेमी नागरिकमा आशा जगाएका थिए।
सोच र तथ्यको समागम
आज लगभग एक दशकपछि हामीले स्वीकार गर्नुपर्ने वास्तविकता के हो भने सहरलाई केवल ‘स्मार्ट’ बनाउनु पर्याप्त छैन। जलवायु परिवर्तन, वायु प्रदूषण, अव्यवस्थित सहरी विस्तार, फोहोर व्यवस्थापन, खानेपानी संकट, नदी अतिक्रमण, खुला स्थानको कमी, भूकम्पीय जोखिम तथा सामाजिक विभेदजस्ता समस्याले देखाएको छ कि सहरलाई ‘स्मार्ट’ मात्र होइन, उत्थानशील, समावेशी र दिगो पनि बनाउनुपर्छ।
नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित मुलुकमध्ये एक हो। हिमालहरूमा हिउँ पग्लने दर बढ्दो छ। असामान्य वर्षा, बाढी, पहिरो, डुबान, खडेरी तथा गर्मीका लहरहरूले जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका छन्। ग्रामीण क्षेत्र मात्र होइन, सहरी क्षेत्र पनि जलवायु जोखिमको केन्द्र बन्दै गएका छन्। काठमाडौं उपत्यकामा वायु प्रदूषण विश्वकै उच्च स्तरमा पुग्ने गरेको छ। नदीहरू ढल निकासका माध्यममा परिणत भएका छन् । खुला स्थानहरू क्रमशः हराउँदै गएका छन्। सहरको प्राकृतिक वहन क्षमता कमजोर बन्दै गएको छ।
सबैभन्दा बढी चिन्ताको विषय के हो भने यी समस्याहरूको दीर्घकालीन प्रभाव आजको युवा पुस्ताले भोग्नुपर्नेछ । यही कारणले ‘मेरो सहर, मेरो भविष्य’ भन्ने अवधारणा केवल नारामा सीमित रहनुहुँदैन। यो भावी पुस्ताको अधिकार, जिम्मेवारी र सहभागिताको विषय बन्नुपर्छ। आजका जेनजी युवाहरू नेपालको इतिहासकै सबैभन्दा डिजिटल, सूचनासम्पन्न र विश्वसँग जोडिएको पुस्ता हो। उनीहरू सामाजिक सञ्जालका प्रयोगकर्ता मात्र होइनन्, उनीहरू जलवायु न्याय, वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र सुशासनका पक्षधर पनि हुन्। विडम्बना के छ भने सहरको भविष्य निर्धारण गर्ने अधिकांश नीतिगत प्रक्रियामा युवाको आवाज अझै सीमित छ।
मेरो भविष्यको सहरको रहर
हामी वास्तवमै भविष्यका लागि उपयुक्त सहर निर्माण गर्न चाहन्छौं भने युवालाई लाभग्राही होइन, सहनिर्माताका रूपमा स्वीकार गर्नुपर्छ। विद्यालय, विश्वविद्यालय, युवा क्लब, अनुसन्धान संस्था र स्थानीय सरकारबिच सहकार्य गरेर युवा सहभागितामा आधारित सहरी विकासको नयाँ मोडल विकास गर्न सकिन्छ। युवा नेतृत्वमा जोखिम नक्सांकन, वायु गुणस्तर निगरानी, नदी संरक्षण, हरित पूर्वाधार प्रवर्धन, सामुदायिक विपद् तयारी तथा नागरिक अनुगमनका कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालयका अभियानले पनि यही सन्देश दिन्छन्– सहरको विकास जोखिम बुझेर, योजना बनाएर र दिगो कार्यान्वयनमार्फत हुनुपर्छ। यस्ता अभियानले स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र र युवाबिचको सहकार्यलाई सहरी उत्थानशीलताको आधार मान्छन्।
भविष्यको सहर कस्तो हुनुपर्छ भन्ने प्रश्नको उत्तर खोज्दा हामीले पूर्वाधारभन्दा पहिले मानिसलाई केन्द्रमा राख्नुपर्छ। सहर त्यस्तो हुनुपर्छ जहाँ विद्यार्थीहरू सुरक्षित रूपमा विद्यालय पुग्न सकून्, जहाँ महिलाहरू रातको समयमा पनि निर्भयतापूर्वक हिँड्न सकून्, जहाँ अपांगता भएका व्यक्तिहरूले सहज रूपमा सार्वजनिक सेवा प्राप्त गर्न सकून्, जहाँ वृद्धवृद्धाले सम्मानपूर्वक जीवनयापन गर्न सकून् र बालबालिकाले स्वच्छ हावा सास फेर्न सकून्।
सहर त्यस्तो हुनुपर्छ, जहाँ सार्वजनिक यातायात निजी सवारीभन्दा आकर्षक हुन्, साइकल लेन र पैदलमार्गलाई प्राथमिकता दिइएको होस्, वर्षाको पानी संकलन, हरित भवन, सौर्य ऊर्जा, फोहोर पुनर्चक्रण तथा नदी पुनर्जीवन सहरी विकासका आधारभूत तत्त्व बनेका हुन्। विकासको मापन केवल कति सडक बन्यो वा कति भवन बने भन्ने आधारमा होइन, कति हरियाली बढ्यो, कति प्रदूषण घट्यो, कति नागरिक सुरक्षित भए र कति युवाले अवसर पाए भन्ने आधारमा हुनुपर्छ।
आज हामीले नयाँ काठमाडौं निर्माण गर्ने अवसर पाउने हो भने सम्भवतः हामी नदीलाई ढलको रूपमा प्रयोग गर्ने थिएनौं, खुला स्थानहरूलाई भवनले भर्ने थिएनौं, सार्वजनिक यातायातलाई उपेक्षा गर्ने थिएनौं, विकासलाई वातावरणको विरोधी ठान्ने थिएनौं। प्रकृति र विकासबिच सन्तुलन कायम गर्ने सहर निर्माण गर्ने थियौं तर समय हामीले गुमाइसकेका छौं।
हामीले सम्झनुपर्छ कि भविष्यका सहरहरू प्रविधिले मात्र निर्माण गर्दैनन्, ती नागरिकको चेतना, सहभागिता र उत्तरदायित्वले निर्माण गर्छन्। युवा पुस्तालाई निर्णय प्रक्रियामा सहभागी नगरीकन दिगो सहरको परिकल्पना सम्भव छैन।
आजको पुस्तासामु एउटा ऐतिहासिक अवसर छ– सहरलाई केवल बसोबास गर्ने स्थानबाट अवसर, नवप्रवर्तन, समानता र वातावरणीय न्यायको केन्द्रमा रूपान्तरण गर्ने। यसका लागि स्थानीय सरकार, शैक्षिक संस्था, निजी क्षेत्र, नागरिक समाज र युवाहरूबिच साझा प्रतिबद्धता आवश्यक छ। सहरको भविष्य कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर प्रविधिमा होइन, हाम्रो दृष्टिकोणमा निर्भर गर्छ । यदि हामीले विकासलाई वातावरणसँग, समृद्धिलाई समावेशितासँग र आधुनिकतालाई दिगोपनसँग जोड्न सक्यौं भने काठमाडौं मात्र होइन, नेपालका सबै सहर दक्षिण एसियाका लागि उदाहरण बन्न सक्छन्।
भोलिको पुस्ताले हामीलाई एउटा प्रश्न अवश्य सोध्नेछ– जब सहरहरू संकटको मोडमा थिए, तपाईंहरूले के गर्नुभयो?
त्यसबेला हाम्रो उत्तर यस्तो हुनुपर्छ– हामीले छोटो लाभभन्दा दीर्घकालीन दिगोपन रोज्यौं। हामीले प्रदूषणभन्दा हरियाली रोज्यौं। हामीले बहिष्करणभन्दा समावेशिता रोज्यौं। हामीले जोखिमभन्दा सहनशीलता रोज्यौं र सबैभन्दा महत्त्वपूर्ण, हामीले भविष्यका पुस्ताका लागि जीवन्त, हरित र न्यायपूर्ण सहर निर्माण गर्ने बाटो रोज्यौं। किनकि मेरो सहर मात्र होइन, हाम्रो भविष्य पनि यही सहरसँग जोडिएको छ।






२२ जेठ , २,०८३