नोटिफाई नेपालLoading...



गीत–सङ्गीत एउटा त्यस्तो विषय हो, जसलाई मूलतः मानव समुदायका लागि अभिन्न अंग मानिन्छ। शास्त्रले नै भनेको छ - कला - सङ्गीतबिनाको मान्छे पुच्छर नभएको जनावरसरह हुन्छ। वास्तवमै गीतसङ्गीतबिना मान्छेलाई श्वास लिन नै मुस्किल बन्ने अवस्था रहन्छ। यस अर्थमा गीतसङ्गीत जीवनमा अपरिहार्य छ।
गीतसङ्गीतको एउटा खास विशेषता छ। कुनै भाषामा सीमित हुँदैन यो। यसको कुनै भौगोलिक सिमाना हुँदैन। अर्को शब्दमा भन्नुपर्दा कहीं–कसैको बन्धनमा रहँदैन, स्वतन्त्र रहन्छ - गीतसङ्गीत। त्यसो त, लेखिएका गीत वा सङ्गीत आफू एक्लाएक्लैले त्यति ठुलो अर्थ बोक्दैन, जबसम्म ती आफूले एकआपसमा समन्वय गर्दैनन्। जब गीति शब्दहरूमाथि धुन भरेर गाइन्छ, तब मात्र एउटा गीतले पूर्णता पाउँछ। त्यसमाथि पनि अझ गीतका शब्दहरूमाथि भरिएको धुनमा सुरिलो आवाजले गाइयो भने त्यो गीत वास्तविक गीत बन्न पुग्छ। यहाँ सन्दर्भ छ त्यस्तै गीतहरूको।
तिसको दशक नेपाली गीतसङ्गीत निकै उर्वर रह्यो। त्यो दशकको अन्तिम - अन्तिम वर्षमा केही गिनेचुनेका गीतकारहरूको पङ्क्तिमा निकै सम्भावना बोकेर देखापरेकाहरूमध्ये एक गीतकार हुन् - वीरेन्द्र पाठक।
सबैबाट तिरस्कृत भए तापनि
सबलाई माया गर्ने म मान्छे
तिमीले लत्यायौ तर अझै पनि
तिमीलाई सुखी चाहने म मान्छे...
एउटा अलग्गै पहिचानको आवाज बोकेका सुविख्यात गायक भक्तराज आचार्यको आवाजमा वीरेन्द्र पाठकद्वारा रचित उल्लिखित गीत रेडियो नेपालबाट बजेपछि सो गीतले त्यसताका लोकप्रियताको चुली छोएको थियो।
गीतले भन्छ - दुनियामा यस्ता पनि मान्छे हुन्छन्, जसको मन अत्यन्त कोमल हुन्छ। ऊ अरूद्वारा जतिसुकै अपमानित वा तिरस्कृत होस्, माया–प्यारको विषयमा संवेदनशील रहेको हुन्छ। त्यसमाथि झन् आफैंले प्रेम गरेको मान्छेले त घृणा गरेर लत्यायो नै भने पनि त्यसप्रति उसको प्रतिक्रिया नकारात्मक हुँदैन, बरु त्यसप्रति झनै आशक्त हुन्छ। यसरी, यहाँ गीतकार वीरेन्द्र आफ्नी मायालुलाई अत्यन्त समीप सम्झन्छन् र गुनासो गर्न पुग्छन् - आफ्ना खुसीहरू जति थिए, ती सबै बाँड्न खोजेँ मैले। उनी प्रश्न गर्छन् - ‘के यसरी आफ्नो खुसीलाई बाँड्न खोज्नु अपराध हो?’
उनी यतिसम्म आफ्नी मायालुसँग मग्न छन् कि उनको हृदयभित्रै समाहित हुन चाहन्छन्। उनी बुझ्दैनन्– प्रेममा किन यस्तो हुन्छ? थाहै नपाई प्रेमसागरमा डुबुल्की मार्दामार्दै यसरी डुबे कि जीवनै बरबाद भएको अनुभूत गर्न पुग्छन्।
बाध्य भएर अर्को गीतमा गीतकार फरक सोच लिएर देखापर्छन्।
कोही नगरोस् प्रेम अमर
प्रेमको मूल्य कहाँ छ
मिल्नु रहेछ व्यथा हजार
सुखको किनार कहाँ छ...
यहाँ गीतकार प्रेमको ठिक विपरीत धारमा देखिन्छन्। उनै गायक भक्तराजको स्वरमा सजिएको यो गीतमा गीतकार कथित अमर प्रेमको विरुद्धमा आवाज उठाउँछन् र प्रेमको अर्थ खोज्छन्। यस्तो प्रेम नै गर्नु किन? जसको मूल्य नै छैन। जबकि प्रेमको गङ्गामा उडेबापत खुसी मिल्नुपर्नेमा उल्टो पीडा र व्यथा पाएको अनुभव गर्छन् उनी। यो प्रेम भन्ने विषय नै कस्तो? तड्पेर बाँच्नुपर्ने। मुटुको धड्कन नै कहिले सुस्तरी चलेजस्तो, कहिले तीव्र गतिमा चलेजस्तो। उनी सोच्छन्, साँचो प्रेमका लागि यति त सहनैपर्छ। जति पीडा देओस्, प्रेमको प्रहारले छातीमा, चुपचाप भित्रभित्रै आफ्नो मुटुलाई थिचेर बस्नैपर्छ। एकछिन बहाना नै सही, आफ्नो जीवनलाई भुलेर मुस्काउने बहाना गर्नुपर्छ। मानौं, प्रेमको चक्करमा परिसकेपछि अरु केही गर्नै जानिन्न, प्रेमबाहेक। गीतकारको धारणामा, प्रेम गरिसकेपछि प्रेमको अलवा दुनियामा केही–केही नै रहन्न। जता जाऊँ, जता हेरूँ, जताततै प्रेम नै प्रेम, आँखा खोलेर हेर्नुको कुनै औचित्य नै छैन, आँखा चिम्ले पनि जतासुकै प्रेमकै दृश्य।
गीतका शब्दहरू केलाएर हेर्दा अन्ततः वीरेन्द्र पाठकलाई यथार्थमा मूलतः प्रेमिल हृदय लिएर हिँड्ने एक सच्चा प्रेम–पथिक हुन् भनेर ठम्याउन मुस्किल पर्दैन। निष्कर्ष सायद यही हो कि प्रेम भनेको मान्छेको धर्म हो। जन्मेपछि मान्छे धार्मिक हुनैपर्छ। अर्को शब्दमा भन्नुपर्दा मान्छेको जीवनसँग जोडिएको धर्मलाई प्रेमका रूपमा हेर्न सकिन्छ। यस्तो प्रेम कुनै वस्तु होइन, जसलाई सहजै प्रयोग गर्न सकियोस्। अर्थात्, प्रेम गरिने क्रिया होइन, स्वचालित हुने प्रक्रिया हो। जुन प्रक्रियालाई मान्छेको हैसियतभन्दा फरक अर्को कुनै सर्वशक्तिले चलाउँछ। त्यही शक्ति नै धर्म हो। अस्तित्वमा नदेखिने त्यही शक्तिलाई ईश्वरको नामले जानिन्छ। गीतकार वीरेन्द्र ईश्वरप्रति आस्थावान् छन्।
अनन्तदेखि बगिरहेको जीवनमा अमृतसमान
उनै प्रभुको चिन्तनले नै मिल्दछ पुण्य महान्...
जीवन आनन्दमय रहनुमा मान्छे–मान्छेबिचको गन्थन होइन, ईश्वरको चिन्तन आवश्यक छ। उनी ईश्वरको गीत गाउनुमा सन्तुष्टि पाउँछन्, यसैमा उनी रमाउँछन्। धर्म गर्न केही गरिरहनै पर्दैन, बस्, एकले अर्काको कुभलो नचिताए पुग्यो। यस अर्थमा सामाजिक भएर बाँच्नुजस्तो उपलब्धि जीवनमा अर्को विषय छैन। गीतकारको परिकल्पनामा सामाजिक हुनु भनेको ईश्वर–प्रेम हो। ईश्वर प्रत्येक मान्छेभित्र छ, तिनै मान्छेलाई ससम्मान प्रेम गर्नु ईश्वर–प्राप्ति हो।
यसैलाई अलिक सजिलोसँग भन्ने हो भने प्रेमपूर्वक गरिने आराधना चाहे मान्छेको होस्, चाहे देउताको होस्– त्यसले जीवन सफल बनाउँछ।
मानव–सभ्यतामा जन्म लिएका कारण वीरेन्द्र पाठक आफू जन्मी हुर्किएको माटोलाई अगाध प्रेम गर्छन्। एक त उनी त्यसै पनि कविहृदयका मान्छे, त्यसमाथि गीतका शब्द बुन्ने कलाकार, स्वभावैले सामान्यतः अन्य मान्छेभन्दा केही न केही भिन्न हुने नै भए। यस हिसाबले आफ्नो मातृभूमिप्रति विशेष रूपले हेर्ने नै भए।
जहाँ घामको पहिलो किरणले
सर्वोच्च शिखरलाई चुम्छ
जहाँ पवित्र धर्तीलाई
पसिनाले सिँचेको हुन्छ
मेरो देश नेपाल यो,
जो सुन्दर शान्त विशाल छ...
कुरो राष्ट्रभक्तिकै हो तर सामान्य लेखाइभन्दा यो गीतमा माटोप्रतिको गुणगान केही फरक देखिन्छ। भक्तराज आचार्यले नै गाएको यो देशभक्ति गीतमा देशको परिचय विशेष रूपले दिइएको छ। सजिलैसँग भन्न सकिन्थ्यो - सगरमाथा उभिएको देश हो यो। तर, उनले त्यही सगरमाथालाई प्रयोग गरेर आकर्षित रूपले नेपालको परिचय दिएका छन्, जहाँ परिश्रमी र स्वावलम्बीहरूको मात्रै वास रहेको छ।
समग्रमा, गीतकार वीरेन्द्र पाठकबारे कुनै कन्जुस्याइँ नगरी भन्न सकिन्छ कि प्रेम, ईश्वर र मातृभूमिप्रति आफ्नो भावनालाई प्रभावशाली गीत बनाएर सम्प्रेषण गर्ने, त्यो पुस्ताको अब्बल गीतकार पाठक नेपाली गीतिसाङ्गीतिक क्षेत्रको ठुलो प्राप्ति हो।






२२ जेठ , २,०८३