नोटिफाई नेपालLoading...



नागरिक नायक एवं पूर्वप्रधानमन्त्री सुशिला कार्कीले राज्य सञ्चालनको जिम्मेवारीमा रहँदा बालुवाटारमै भौतिक आक्रमण, चौतर्फी आलोचना र ज्यान मार्ने धम्कीसम्मको सामना गर्नुपरेको बताएकी छन्।
नेपाल रिपब्लिक मिडियाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ता सञ्चालनका क्रममा भोगेका ती त्रासदीपूर्ण दिनहरूको स्मरण गरेका हुन्।
देशलाई अस्थिरताबाट निकास दिने क्रममा आफूमाथि सडकमा घिसार्ने, लछार्ने र पछार्नेसम्मका धम्की आएको उनले सुनाइन्। तर देश जोगाउने मुख्य दायित्वबाट आफू कहिल्यै पछि नहटेको उनको भनाइ थियो।
सुरक्षा चुनौती कतिसम्म थियो भन्ने उदाहरण दिँदै उनले भने, ‘बालुवाटारको गेटमै आएर ढुङ्गामुढा भयो। हुँदाहुँदा एकदिन त बालुवाटारका सबै सेक्युरिटी गार्डहरू आकाशतिर हेरिरहेका थिए, पछि साँझ मात्रै थाहा भयो, ड्रोन हानेर मार्दिन्छु भन्नेसम्मको धम्की आएको रहेछ।’
बाहिर सडकमा निस्किँदा समेत पाइला–पाइलामा ज्यानको खतरा रहेको उनले स्मरण गरिन्। ‘रातदिन थ्रेट हुन्थ्यो, सडकमा गाडी हाँक्ने बेला सेक्युरिटी गार्डहरूले हजुरलाई यहाँनिर हमला हुँदैछ भन्दै गाडीको गति बढाउँथे,’ उनले सुनाइन्।
लगातारको मानसिक दबाब र तनावका कारण आफ्नो स्वास्थ्यमा समेत असर परेको यथार्थ उनले कार्यक्रममा सुनाइन्। उनले भनिन्, ‘म इमान्दारीपूर्वक भन्छु, त्यो बेला बालुवाटारको घरमा माथि सिँढी चढ्ने बेलामा म कयौं पटक बेहोस हुँदाहुँदै बचेको छु।’
यति धेरै दबाब, असुरक्षा र त्रासका बाबजुद पनि आफ्नो अडानबाट पछि नहट्नुको एउटै कारण देश र जनताप्रतिको जिम्मेवारी भएको उनले प्रस्ट पारिन्।
आफूमाथि आक्रमण गर्नेहरूलाई मुर्ख भएको बताउँदै उनले थपिन्, ‘हामीमाथि चारैतिरबाट प्रहार भयो, आलोचना भयो, तर हामी डगेनौं। किन डगेनौं भन्दा, हामीलाई हाम्रो देश बचाउनु थियो। जो हामीमाथि खनिएका थिए, ती त मुर्ख थिए। मुर्खको पछि लाग्ने कुरा भएन, हामीलाई त जसरी भए पनि मुलुक जोगाउनु थियो। त्यसैले हामी अडिग भएर उभियौं।’
व्यक्तिगत सुरक्षा र ज्यानको पर्वाह नगरी आफूसहित ११ जना मन्त्रीहरूको टोलीले देशलाई निकास दिएको उनले सुनाइन्। छोटो समयमै आफूले निकै ठूलो दबाब र सिकाइको सामना गरेको उल्लेख गर्दै उनले भनिन्, ‘मैले त जम्मा ६ महिना काम गरेँ, तर मलाई ६ वर्षकै अनुभव भयो।’








१३ बैशाख , २,०८३