नोटिफाई नेपालLoading...



विश्व वातावरण दिवसका अवसरमा विराटनगरमा शुक्रबार र्याली निकालिएको छ। विराटनगर महानगरपालिकाको आयोजनामा निकालिएको सचेतनामूलक र्याली स्थानीय महेन्द्र चोकबाट सुरु भई विराटनगर महानगरपालिका परिसरमा पुगेर सभामा परिणत भएको थियो।
र्याली पछि आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउने दुई वटा संस्थालाई सम्मान गरेको छ। वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवर्द्धन तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका ग्रिन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गो ग्रिन विराटनगरका नवीनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई सम्मानपत्र प्रदान गरे। मेयर कोइरालाले वातावरणीय संकट विश्वकै साझा चुनौती बनेको उल्लेख गर्दै यसको समाधानका लागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। पछिल्ला वर्षहरूमा बढ्दो तापक्रम, अनियमित वर्षा र प्रदूषणका कारण वातावरणीय जोखिम तीव्र बन्दै गएको उल्लेख गर्दै उनले प्रत्येक घर, विद्यालय, उद्योग तथा संघसंस्थाले वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनु पर्नेमा जोड दिए।
वातावरण शाखा प्रमुख इन्जिनियर राकेश ठाकुरले वातावरण संरक्षणका क्षेत्रमा नागरिक सहभागिता बढाउन महानगरले विभिन्न सचेतनामूलक तथा हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीय तहको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गरेका थिए।






२२ जेठ , २,०८३