नोटिफाई नेपालLoading...



गत भदौको जेनजी आन्दोलनपछि मुलुकको जिम्मेवारी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको काँधमा पुग्यो । राष्ट्रपति रामचन्द्र पौडेल र आन्दोलनकारी युवाको आग्रहअनुरूप उनले जिम्मेवारी लिइन् । तोकिएकै समयमा गत फागुन २१ मा निर्वाचन सम्पन्न गरी सत्ताको साँचो बुझाएर उनी अवकाश जीवनमा फर्किइन् । अवकाशलगत्तै नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई उनले अन्तर्वार्तामार्फत आफ्ना अनुभूति प्रकट गरेकी छन् । प्रस्तुत छ– उक्त अन्तर्वार्ताको सम्पादित अंश ।
अदालतबाट निस्किँदा तपाईंलाई कहिल्यै फेरि जिम्मेवारी लिनुपर्लाजस्तो लागेको थियो ?
त्यो अदालतबाट ७४ साल जेष्ठ २३ गते अवकाश भएर निस्कँदाको क्षणको अनुभूति हो । त्यतिखेर मलाई लागेको थियो– ‘अब म स्वतन्त्र छु । जे पनि गर्न सक्छु, जहाँ पनि घुम्न सक्छु ।’
प्रधानमन्त्री पदमा हुँदा बाधिएकोजस्तो लाग्थ्यो । नियम, कानुन, प्रक्रिया– यी सबैले एउटा सीमा र सुरक्षा दिएका थिए । तर त्यही बाध्यताभित्र पनि एउटा ‘सुरक्षित क्षेत्र’ थियो । बाहिर निस्किएपछि पनि अनन्त कामको डुंगा बोकेर हिँड्नुपर्ने रहेछ ।
प्रधामन्त्री रहँदा दैनिक कस्तो दिनचर्या थियो ? कतिवटा बैठक हुन्थ्यो ?
अदालतको जीवन अत्यन्तै व्यस्त थियो । तर, प्रधानमन्त्री भएपछि दैनिक बैठकहरूको संख्या कहिले पाँच–छ त कहिले १४ वटासम्म पुग्थ्यो । एक दिन याद छ– बिहान ७ बजेदेखि राति १० बजेसम्म लगातार १४ वटा बैठक । बिचमा खाना खाने समय पनि भेटिँदैनथ्यो ।
सुरु–सुरुमा मन्त्रालय ६ वटा, सात वटा हुँदा ती सबैको जिम्मेवारी हेर्नुपर्दा दृष्टि नै पुग्दैनथ्यो । एउटा फाइल पढ्दै गर्दा अर्काको घण्टी बज्थ्यो । पछि ती जिम्मेवारी बाँड्दिएपछि अलि हलुंगो भयो । तर त्यसपछि तीन–चार महिना त सबैको काम आफैंले बोकेर हिँड्नुपर्यो ।
‘बैठक’ भन्ने शब्दसँग मेरो प्रेम–द्वेष सम्बन्ध छ । बैठकले समस्या समाधान गर्छ तर बैठक नै समस्या बन्न सक्छ । कतिपय बैठकहरूमा घण्टौं बित्थ्यो तर कुनै निर्णय हुँदैनथ्यो । म भन्थें– ‘बैठकले होइन, कामले मुलुक चल्छ ।’
अन्तिममा मन्त्रीज्यूहरूले छोडेर चुनावमा गएपछि फेरि ती सबै काम आफैंले बोक्नुपर्यो । कहिलेकाहीं लाग्थ्यो– ‘किन यत्रो भारी बोकेको ?’ तर उत्तर पाइँदैनथ्यो । कर्तव्यभन्दा ठुलो प्रश्न थिएन ।
भदौ २३–२४ को घटनापछि तपाईंको जीवनमा अचानक के परिवर्तन आयो ?
भदौ २३–२४ को घटनापछि मुलुक टुक्रिने, रहने छैन भन्ने त्रास थियो । त्यतिबेला म जस्तो गैरराजनीतिक मान्छेले पनि जिम्मेवारी बोक्नुपर्ने अवस्था आयो । घरको मूली भएको मानिसले घरबार नै छोडेर काममा लाग्दा हुने ध्वंसको कल्पना जस्तो भयो । त्यही परिस्थिति थियो । गर्नैपर्ने भनेपछि गर्नैपर्यो ।
मेरो स्वार्थ त्यसमा कहाँ थियो ? ‘यो गरौंला, त्यो होला’ भन्ने पनि थिएन । कम्तीमा मुलुक बाँच्छ भनेर निस्केको हुँ । परिवारको मूली हुनुको अर्थ हो– जब सबैले साथ छोड्छन्, तपाईं नै अन्तिम सहारा हुनुपर्छ ।
तपाईंलाई यो ठुलो जिम्मेवारी लिन प्रेरित गर्ने मुख्य कारक के थियो– व्यक्तिगत महत्त्वाकांक्षा कि जनताको विश्वास ?
जनताको विश्वास नै एक मात्र कारक थियो । मैले अदालतमा गरेको काम, इमानदारी, पारदर्शिता र न्यायोचित निर्णयले मानिसहरूले मलाई चिनेका थिए । म भन्थेँ– ‘मेरा शत्रु कोही छैनन् किनभने मैले कसैको अहित चिताएको छैन ।’
जब मानिसहरूले भने– ‘तपाईंबाट सम्भव छ, तपाईंले गर्नुपर्छ’, त्यो विश्वासको भार मैले स्वीकारेँ । व्यक्तिगत महत्त्वाकांक्षा भएको भए म त्यति धेरै जोखिम किन लिन्थेँ ? ड्रोनबाट हमला गर्ने सूचना थियो, बालुवाटारमा मोटरमाथि हमला गर्ने योजना थियो ।
एक दिन मैले सोचेँ– ‘के म यो मर्नलाई निस्केको ?’ तर उत्तर थियो– ‘हो, मुलुकका लागि मर्नु पनि एउटा पुण्य हो ।’ त्यसपछि डर लागेन । भनें– ‘जे पर्ला पर्ला । भाग्यमा जे लेखेको छ, त्यही होला ।’
पुराना नेताहरूको शासनशैलीमा सबैभन्दा ठुलो गल्ती के थियो ?
हामीलाई थाहा थियो– गल्ती हुँदै छ । शासनशैलीमा त्रुटि आइरहेको छ । तर सबैभन्दा ठुलो गल्ती थियो– युवालाई प्राथमिकता नदिनु । पार्टीहरूले बुबाहरूले परिवारमा छोरालाई व्यापारमा लगाएजस्तै राजनीतिमा पनि आफ्ना सन्तानलाई अघि सारे । तर कुर्सी भने आफैं समातेर बसे ।
‘मेरो गोरुको दुई टक्का’ भन्ने मानसिकता । ‘मैले मात्रै गर्न सक्छु, मेरो २०–३० वर्ष अझै छ’ भन्ने घमण्ड । यसले पार्टीहरूलाई ‘लाइनमा आउन’ दिएन । युवा रिसाएको थियो, हामी पनि रिसाएकै थियौं ।
युवा सडकमा आए । सरकारले बेलायतको जेनजी आन्दोलनजस्तै भन्नुपथ्र्यो– ‘आउनुस्, तपाईंहरूलाई खुला छ । अबको दिन हाम्रो होइन, तपाईंहरूको हो ।’ तर यहाँ त मौनता छायो र युवाले आफैं बाटो बनाए ।
‘बुढा बुबा तीर्थ जाने परम्परा’को अन्त्यले राजनीतिमा के असर पार्यो ?
हाम्रो परम्परामा बुढा बुबाहरूले घरबार छोरालाई सुम्पेर तीर्थ जान्थे । त्यो अहिले छैन । बुढा बुबा अहिले ‘तगारो’ बनेर बसेका छन् । सत्ता, कुर्सी, मन्त्रालय– यी तिनका ‘तीर्थ’ बने ।
उनीहरू भन्छन्– ‘म अन्तिम हुँ, मैले नै गरें भने के हुन्छ ?’ यो सोचाइले मुलुकलाई पछाडि धकेल्यो । विश्वमा ३५ वर्षको प्रधानमन्त्री आइसके । हामीकहाँ भने बुढ्यौली ‘अनुभव’को नाउँमा चलेको छ ।
अनुभवको मूल्य छ तर अनुभवको तानासाही हुँदैन । बुबाले छोरालाई बाटो देखाउने, हात समात्ने हो तर हिँड्ने छोरा आफैं हो । त्यो नहुँदा पुस्तान्तरणको संकट आयो । युवाले भन्यो– ‘तिमी पछि हट, नत्र हामी घरै छिर्दैनौं ।’ यो विद्रोलाई सानो ठान्नुभयो र परिणाम भोग्नुपर्यो ।
तपाईंमाथि न्यायाधीश हुँदा महाभियोग लाग्दा कस्तो अनुभव भयो ? केही पिर लागेन भन्नुभयो ?
मलाई कुनै पिर लागेन किनभने मैले राम्रो काम गरेको थिएँ । जे कुरामा महाभियोग लगाइयो, त्यो कुरा हुँदै होइनथ्यो । म भन्थें– म सत्य हुँ, उजुर गर्नेहरू गलत हुन् ।
मलाई कानुन थाहा थियो । मैले दक्षताका साथ मुद्दाको फैसला गरेको थिएँ । भ्रष्टाचारलाई रोकेको थिएँ । जहाँ रोक्नुपर्ने, रोकेको थिएँ । त्यसैले म डराइनँ ।
एक रात मैले महसुस गरें– ‘यो सबै षड्यन्त्र हो ।’ तर म विचलित भइनँ । बरु म बेन्चबाट उठेर आएँ । चार–पाँच दिनपछि फेरि फर्कें । किनभने मलाई थाहा थियो– काम गर्नैपर्छ, इज्जत राख्नैपर्छ ।
महाभियोगको त्यो रात म सुतिरहेको थिएँ । सपना देखिनँ । बिहान उठेर फेरि अदालत गएँ । मानिसहरूले भने– ‘तपाईंलाई के भयो ?’ मैले भनें– ‘केही भएन । मैले सत्य बोलें र सत्य नै जित्छ ।’
त्यो दिनपछि मलाई एउटा कुरा सिकायो– सत्यको बाटोमा हिँड्नेलाई संसारले नै छोडे पनि, अन्ततः प्रकृतिले न्याय गर्छ ।
‘महाभियोग’लाई तपाईंले व्यक्तिगत आक्रमण ठान्नुभयो कि प्रणालीगत कमजोरी ?
दुवै । व्यक्तिगत रूपमा उनीहरूले मलाई निसाना बनाए । तर प्रणालीगत रूपमा यसले देखायो– न्यायपालिका कति कमजोर छ । प्रधानन्यायाधीशलाई नै यस्तो गर्न सकिन्छ भने तल्लो अदालतका न्यायाधीशको के अवस्था होला ?
मैले सोचें– ‘यदि मैले यो अभियोगलाई डराएर स्वीकार गरें भने भोलि हरेक न्यायाधीश डराउनेछ ।’ त्यसैले म अडेँ । मैले भनें– ‘म गलत छु भनेर प्रमाण देऊ ।’ प्रमाण आएन किनभने थिएन ।
यो घटनाले देखायो– हाम्रो न्यायिक प्रणालीमा ‘लिन्चिङ’को संस्कृति छ । कानुनभन्दा माथि सत्ता पुग्न खोज्छ । तर मैले त्यसलाई सफल हुन दिइनँ किनभने मलाई थाहा थियो– न्यायाधीशको प्रतिष्ठा नै न्यायपालिकाको प्रतिष्ठा हो । र न्यायपालिकाको प्रतिष्ठा नै लोकतन्त्रको प्रतिष्ठा हो ।
प्रधानमन्त्रीको शपथ खाएपछि राति घरमा रोटी खाने अवस्था कस्तो थियो ? के तपाईं त्यहाँ फर्किनुभयो ?
२७ गते राति शपथ खाएँ । राति १२–१ बजे घर पुगेँ । घरमा रोटी र तरकारी पकाएको थियो । रोटी खाएँ अनि सोचेँ– ‘दुई–चार जोर मात्रै बोकेर भोलि फर्किन्छु होला ।’
तर अर्को दिनै भनियो– ‘तपाईं त्यहाँ जान सक्ने स्थिति छैन ।’ किनभने सिंहदरबारको पुरानो संरचनाले नयाँ अनुहार मान्दैनथ्यो । म कोट–सुटबिनाको प्रधानमन्त्री । मेरो शपथको फोटो हेर्नुस्– लुगा राम्रो थिएन, किनभने म छलफल गर्न गएको मानिस थिएँ, शपथ खाने हैन ।
त्यसपछि महिनौंसम्म फर्किन पाइनँ । यहाँ अस्ति मात्र आएँ । घरको झोला अझै कोठामा राखेको छ, लुगा राख्ने ठाउँ छैन ।
‘पूर्णकालीन प्रधानमन्त्री’ र ‘चुनावी प्रधानमन्त्री’बिच के भिन्नता थियो ?
आकाश र जमिनको फरक । पूर्णकालीन प्रधानमन्त्री सिंहदरबारको कुर्सीमा बसेर ‘अर्डर’ गर्छ । चुनावी प्रधानमन्त्री (जस्तो म) एउटा अर्ध–प्रधानमन्त्री, जसलाई न सचिव टेर्छ, न अफिसर टेर्छ । उनीहरू सोच्छन्– ‘भोलि–पर्सि यो गइहाल्छ ।’
मेरो अवस्था थियो– क्याबिनेटको निर्णय तीन मिनेटमा बाहिर सार्वजनिक हुने । निर्देशन पुरानै सत्ताधारीबाट । हामी त कुर्सीमा मात्रै थियौं । ‘निर्वाचन आयोग थप अरु केही’– त्यो थियो मेरो जिम्मेवारी ।
निर्वाचनको बेला ड्रोन हमलाको धम्की आएको थियो । तपाईंले कसरी सामना गर्नुभयो ?
सूचना आएको थियो– बालुवाटारमा तपाईंको मोटरमाथि हमला हुन्छ । ड्रोनबाट हमला हुन्छ । मैले सुरक्षाकर्मीलाई भनें– ‘जे पर्ला पर्ला । भाग्यमा जे लेखेको छ, त्यही होला ।’
नतिजा आयो– एउटा पनि गोली चलेन । कुनै पनि निर्वाचन दोहोर्याउनुपरेन । शान्तिपूर्ण निर्वाचन भयो । त्यो दिन मलाई लाग्यो– ‘प्रकृतिले पनि साथ दियो ।’ किनभने त्यो केवल हाम्रो मेहनत थिएन, त्यो ईश्वरीय कृपा पनि थियो ।
त्यति धेरै चुनौतीबिच एउटा गोली नचल्नुको श्रेय कसलाई दिनुहुन्छ ?
सबैभन्दा महान् जनता । उनीहरूले नै चुनावलाई स्वीकार गरे । होली मानेनन्, फागु मानेनन् । दसैं, तिहार चैट, होली, क्रिसमस, लोसार– सबै चाड बिदा थिए तर जनता भिडे ।
निर्वाचन आयोग, रामप्रसाद (भण्डारी)जी ‘पर्फेक्ट’ मानिस निस्किनुभयो । सुरुमा एक्लै काम गरे, पछि दुई जना साथी जोडिए । उहाँलाई भार पर्यो, तर दुःख गर्नुभयो । तेस्रो– सुरक्षा निकाय । आर्मी, प्रहरी, सशस्त्र सबैले उत्कृष्ट काम गरे । तीन लाख सुरक्षाकर्मी खटिए । एक महिनाको योजना, एक दिनको होइन ।
तर मुख्य श्रेय जनतालाई । किनभने एमालेले मसाल जुलुस निकाल्यो तर पब्लिक साथ दिएन । पब्लिक हेरेर बस्यो । अनि भोट हालेर देखाइदियो । त्योभन्दा ठुलो महानता के हुन सक्छ ?
सिंहदरबारको ‘पुरानो मानसिकता’ले नयाँ सरकारलाई कस्तो चुनौती दिन्छ ?
कर्मचारीहरू पुरानै ‘एटिट्युड’मा छन्– ‘हामीले देखेका छौं, तिमी आउँदा जाउँला ।’ एसइईको रिजल्ट एक महिनामा निकाल्नुपर्छ भनियो । त्यो अरूले गर्न सकेन । हामीले गर्यौं । ‘श्रम स्वीकृति जुन दिन आवेदन गर्यो, त्यही दिन दिनुपर्छ’ भनियो । त्यो चुनौती थियो तर सम्भव रहेछ ।
सिंहदरबारको समस्या ‘कानुन’ होइन, ‘मानसिकता’ हो । ‘ठुला मानिसलाई नभनीकन काम हुँदैन’ भन्ने भाष्य बनिसकेको छ । यसलाई तोड्नुपर्छ । नोकरी परीक्षा पास गरेपछि मात्र । मन्त्रीको सिफारिसले होइन ।
नयाँ सरकारलाई मेरो सुझाव– पहिलो दिन सिंहदरबारको एउटा तलाबाट अर्को तलामा जानुहोस् । कर्मचारीको आँखा हेर्नुहोस् । तपाईंलाई थाहा हुन्छ– कसले काम गर्छ, कसले अल्टिमेटम दिन्छ । अनि त्यसैअनुसार परिवर्तन गर्नुहोस् । ‘टोटल चेन्ज’ जरुरी छ ।
‘जस्टिस सिस्टम’लाई स्वतन्त्र राख्ने उपाय के हो ?
पहिलो– नियुक्ति प्रक्रिया पारदर्शी बनाउने । ‘फलानाको मान्छे’ भनेर नियुक्ति गर्न हुँदैन । दोस्रो– न्यायाधीशको कार्यकाल सुरक्षित । तेस्रो– सर्वोच्च अदालतको निर्णयमा कार्यकारीले हस्तक्षेप गर्न नपाउने ।
एउटा उदाहरण– फलानाले नियुक्त गरेको न्यायाधीशले पनि उसैको विरुद्ध फैसला दिएको देखेको छु । न्यायाधीश भएपछि उहाँ न्यायाधीश हुनुहुन्छ, ‘फलानाको मान्छे’ होइन । यो हाम्रो प्रणालीको बलियो पक्ष हो ।
तर कमजोरी पनि छ– न्यायाधीशमाथि ‘महाभियोग’को डर । यो डरले उनीहरू ‘सुरक्षित’ फैसला दिन्छन् । यो हटाउनुपर्छ । न्यायाधीशलाई पूर्ण स्वतन्त्रता दिनुपर्छ । त्यसपछि मात्र न्यायपालिका ‘जनताको अन्तिम विश्वास’ बन्न सक्छ ।
निर्वाचनपछि राति तपाईंलाई कस्तो लाग्यो ? केही महसुस भएन भन्नुभयो– त्यो उदासीनता हो कि सन्तुष्टि ?
दुई महिनासम्म राम्रो निद्रा पाएको थिइनँ । त्यसैले राति १२–१ बजे सुतेँ । तनावलाई राम्रै टारिदिएँ । त्यो उदासीनता होइन, ‘निष्काम कर्म’को सन्तुष्टि थियो ।
मैले मेरो काम गरेँ– निर्वाचन गराउने । अब रिजल्ट जस्तो आयो, त्यो हाम्रो सरोकारको विषय थिएन । मलाई भन्न मन लाग्यो– ‘हामीले रगत नचुहाउने निर्वाचन गराउने वाचा गरेका थियौं । त्यो पूरा भयो । अब निन्द्रा लाग्छ ।’
जनताले निर्वाचनलाई ‘एक्सेप्ट’ गरे । तर होली, दसैंजस्ता चाड मानेनन् । यो के संकेत थियो ?
यो संकेत थियो– जनता ‘मनोरञ्जन’को मुडमा थिएनन्, ‘रूपान्तरण’को मुडमा थिए । चाडपर्व मानिसलाई भुलाउनका लागि हुन्छ । तर यसपटक जनता भुल्न चाहन्नथे । उनीहरू जागिर, रोजगारी, सुशासन चाहन्थे ।
यो जनताको महानता हो । उनीहरूले हामीलाई सिकाए– चाड मानेर देश बन्दैन, काम गरेर बन्छ र उनीहरू आफैं काममा जुटे । त्यसैले भनें– ‘जनता नेताभन्दा अगाडि रहेछन् ।’ यो मेरो जीवनको सबैभन्दा ठुलो सिकाइ हो ।
तपाईंले भन्नुभयो– ‘पराजित नआत्तिऊन्, जितेका नमात्तिऊन् ।’ यो सन्देश किन जरुरी छ ?
राजनीति हारजितको खेल हो । आज जित्नेले भोलि हार्न सक्छ, हार्नेले पर्सि जित्न सक्छ । तर हारको पीडा र जितको घमण्ड दुवै घातक छन् ।
जितेका नमात्तिऊन् किनभने बहुमत जनताको दिएको हो, तपाईंको क्षमताको होइन । जनताले दिएको कुरा जनताले फिर्ता पनि लिन सक्छ । त्यसैले घमण्ड होइन, सेवाको भावना राख्नुपर्छ ।
पराजित नआत्तिऊन् किनभने हारले नयाँ सिकाइ दिन्छ । हामी किन हार्यौं भन्ने मूल्यांकन गर्नुपर्छ । जनताको घन्टी हाम्रोविरुद्ध किन बज्यो भन्ने सोच्नुपर्छ । त्यो सोचबाट मात्र सुधार सम्भव छ ।
म भन्छु– ‘जितेको पद होइन, हारेको अनुभव हो, जसले नेता बनाउँछ ।’ त्यसैले न त मात्नुस्, न त आत्तिनुस् । अनि सधैं सम्झनुस्– जनता सर्वोपरि छन् ।
‘जनताको घन्टी बज्यो’ भन्ने बुझाइ कत्तिको महत्त्वपूर्ण छ ?
अत्यन्त महत्त्वपूर्ण । जब हामी हार्छौं, हामी ‘उनीहरूले षड्यन्त्र गरे’ भन्छौं । तर साँचो कारण के हो भने जनताले हाम्रो प्रदर्शनको मूल्यांकन गर्यो र हामी फेल भयौं ।
घन्टी बज्नुको मतलब– जनता जागेको छ । उसले देखेको छ– कसले के गर्यो, कसले के गरेन । उसले नोट गरेको छ– कहाँ ढिलाइ भयो, कहाँ भ्रष्टाचार भयो । र अन्ततः उसले निर्णय सुनायो ।
तपाईं सपना देख्नुहुन्छ ? ‘सपना याद हुँदैन’ भन्नुभयो– यो किन ?
म धेरै गहिरो सुत्छु । सायद त्यही कारणले सपना याद हुँदैन । तर मलाई लाग्छ– जीवनको यात्रा नै एउटा सपना हो । हामी जागा छौं भन्छौं तर अझै सपना देखिरहेका हौं । मलाई सपना याद हुँदैन तर मलाई लक्ष्य याद छ ।
एक महिलाको रूपमा नेतृत्व गर्दा कस्तो चुनौती थियो ? ‘डु एन्ड डाइ’को अवस्था किन आयो ?
प्रधानन्यायाधीश हुँदा पनि मैले राम्रो गर्नुपर्छ भन्थेँ । नत्र ‘महिलाले पनि गर्न सक्छन्’ भन्ने सन्देशमा आँच आउँथ्यो । एउटा महिलाले जिम्मेवारी पाएर छोड्यो भने ‘तिमीहरू के गर्न सक्छौ ?’ भन्ने आरोप आउँछ ।
मैले महसुस गरेँ– यो केवल मेरो लडाइँ होइन, यो सिंगो महिला समुदायको लडाइँ हो । म हारें भने महिलाको नेतृत्वमाथि नै प्रश्न उठ्छ । त्यसैले मैले ‘डु एन्ड डाइ’को बाटो रोजेँ ।
कहिलेकाहीं मनमा आउँथ्यो– ‘छोडेर भागौं ।’ तर फेरि लाग्थ्यो– ‘भागेको भए मानिसहरूले भन्थे– हेर, महिलाले के गर्छ ?’ त्यो भनाइले मलाई जगायो ।
एक रात मैले ती सबै महिला सम्झेँ, जसले मलाई आशा हेरेकी थिइन् । ती आँखाको जवाफ दिन म बाध्य थिएँ । र मैले दिएँ– काम गरेर, सत्य बोलेर, इज्जत जोगाएर ।
अन्त्यमा, तपाईं के भन्न चाहनुहुन्छ ?
म अहिले युवालाई हेर्छु– उनीहरूको आँखामा चमक छ । त्यो चमक निभ्न नदिने जिम्मेवारी हाम्रो हो । म भन्छु– ‘सरकारले सतर्क भएर काम गरोस् । धेरै नमात्तियोस् ।







१३ बैशाख , २,०८३