नोटिफाई नेपालLoading...



सिभिल अस्पताल यस्तो अस्पताल थियो; जहाँ बिरामीले आफूले चाहेकै चिकित्सकको नाममा टिकट लिएर सिधै विशेषज्ञ सेवा लिन पाउँथे। सेवाको यो शैली सिभिलले यही सातादेखि लागु हुने गरी परिवर्तन गरेको छ। हेलो सरकार तथा राष्ट्रिय सर्तकता केन्द्रमा बिरामीले नौ बजे नै बहिरङ्ग सेवा नपाएको गुनासो गरेपछि अस्पतालले सेवाको स्वरूपमा परिवर्तन गरेको हो।
अस्पतालका अनुसार यो अस्पतालमा सेवा लिन जाने बिरामीले विभिन्न निकायमा नौ बजे नै बहिरङ्ग सेवा नपाएको गुनासो गरेपछि सम्बन्धित निकायले अस्पताललाई तोकेकै समयमा सेवा दिन निर्देशन दिएको थियो। सरकारको निर्देशनबमोजिम बहिरङ्ग सेवा दिने क्रममा अस्पतालले टिकट बुकिङको पुरानो शैली परिवर्तन गरी सम्बन्धित विभागका नाममा मात्र टिकट लिन पाउने व्यवस्था गर्दै छ। ‘भोलिदेखि नै जनरल टिकटबाट सेवा लिने निर्णय लागु हुन सक्छ’, अस्पतालकी सूचना अधिकारी रञ्जना नेपालल भनिन्। अस्पतालले बुधबारदेखि नै लागु हुने गरी परिपत्र जारी गरेको छ।
सरकारको नीतिनिर्देशनबमोजिम नै चिकित्सकको कार्यविभाजनमा परिवर्तन गरी सेवा दिने तयारी गरेको अस्पतालका निर्देशक डा. मोहनराज रेग्मीले बताए। यसका लागि सम्बन्धित विभागका केही चिकित्सकलाई सुरुमै वार्डका बिरामी हेर्न पठाउने र आधालाई बहिरङ्ग सेवामा समयमै खटाउने तयारी भएको रेग्मीले बताए। ‘अब सबै बिरामी टिमले मिलाएर हेर्छन्, तर सेवा नौ बजे नै सुरु हुन्छ, वार्डमा पनि हेर्नुप¥यो, ओपिडीमा पनि हेर्नुप¥यो’, अस्पतालका निर्देशक रेग्मीले भने। चिकित्सकको नाम उल्लेख नगरी विभागका नाममा मात्र टिकटको व्यवस्थाले बिरामीले जुनसुकै चिकित्सकबाट सेवा लिन मिल्ने छ।
अस्पतालका अनुसार हरेक अस्पतालमा चिकित्सकले वार्डका बिरामी हेरेपछि मात्र बहिरङ्ग सेवा दिने अभ्यास छ। सोहीअनुसार पछिल्लो समय पनि चिकित्सक वार्डमा राउन्ड दिएपछि बहिरङ्ग सेवा दिने गर्थे। चिकित्सक तथा कर्मचारीहरू नौ बजे नै पुगेर अस्पतालको सेवा सुरु गर्थे तर नागरिकको गुनासोले अस्पतालप्रति गलत भाष्य निर्माण भएको अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको छ। ‘हामी पहिल्यैदेखि नै नौ बजे पुगेरै सेवा दिइरहेका छौं, नागरिकले नबुझी गरेको गुनासो र सरकारको गलत बुझाइले गलत भाष्य निर्माण भयो’, अस्पतालकी सूचना अधिकारी नेपालले भनिन्।
उस्तै गुनासो एक चिकित्सकले गरे। व्यावहारिक पक्ष एकातिर र आदेश अर्कातिर भएपछि वार्डका बिरामी नहेरी बहिरङ्ग विभागमा पुग्नुपर्ने बाध्यताले वार्डका बिरामीको चिकित्सक समयमै भेट्ने अधिकारबाट बञ्चित हुने देखिएको उनीहरूले बताए।
सरकारको निर्देशन पालना गर्दा वार्डका बिरामी मर्कामा पर्ने देखिएको एक चिकित्सक बताउँछन्। ‘पहिला ओपिडी सेवा दिऔं, साँझ मात्र वार्डका बिरामी हेर्नुपर्ने भयो’, एक चिकित्सकले समय मिलाउन नसकेपछि भने। ‘वार्डमा पहिला बिरामी नहेर्न मिल्दैन, नौ बजे नै ओपिडी पुग्नुपरेपछि कसरी वार्डमा बिरामी हेर्नु?’, एक चिकित्सकले भने। नयाँ निर्णय लागु भएसँगै सबै बिरामीले पुग्नेबित्तिकै खोजेको चिकित्सक भेटिने र खोजेकै चिकित्सकको टिकट पाउने अवसर भने कम हुने देखिएको छ।
सिटिस्क्यान कहिले बन्छ?
सिभिल अस्पतालमा सिटिसक्यान बिग्रिएको तीन महिना बितिसकेको छ । मेसिन नबन्दा बिरामी मर्कामा परेका छन्। लामो समयदेखि सिटिसक्यान बिग्रिएपछि बिरामी सेवा लिन अस्पताल बाहिर जान बाध्य भएका छन् भने कतिपय महँगो शुल्क तिरेर विकल्पमा एमआरआई सेवा लिने गरेको अस्पतालका कर्मचारीले जानकारी दिए। लामो समय सिटीसक्यान मेसिन बिगँ्रदा बिरामीले महँगो सेवा लिन बाध्य भएको देखिन्छ।
बिग्रेको मेसिन बन्न थप दुईदेखि तीन महिना लाग्ने सम्भावना रहेको अस्पतालको रेडियोलोजी विभागले जनाएको छ। अस्पतालकी सूचना अधिकारी रञ्जना नेपालका अनुसार बिग्रिएको मेसिन बनाउने प्रक्रिया र दायित्वका बिचमा कुरा नमिल्दा मर्मत कार्यमा ढिलाइ भएको हो। अस्पतालका अनुसार मेसिन उत्पादक कम्पनीले बनाउनुपर्छ, त्यो प्रक्रियाकै क्रममा छ।
यस विषयमा अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले भने सिटिसक्यान बिग्रेका पार्टपुर्जा महँगो पर्ने भएकाले त्यसको खरिद प्रक्रिया पूरा गर्न थप समय लाग्ने देखिएको छ । ‘हामी सक्दो छिटो गर्ने कोसिसमा छौं तर प्रक्रियाले ढिलाइ हुन गएको हो’, उनले भने। अस्पतालमा सिटिस्क्यान सेवा लिने दैनिक औसत ३० देखि ३५ जना बिरामी हुन्छन्।






१६ बैशाख , २,०८३