नोटिफाई नेपालLoading...



एआईको तीव्र विकासले जोखिम बढाउन सक्ने भन्दै यसको गति केही सुस्त बनाउनुपर्नेमा प्रविधि क्षेत्रका प्रमुख व्यक्ति सहमत भएका छन्।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनले यस्तो धारणा तथा एआईमा थप नियन्त्रणको मागको आलोचना गरेका छन्। एन्थ्रोपिकका सिइओ डारियो अमोदेईले शनिबार एआईको विकासको गति सुस्त बनाउनुपर्ने प्रस्ताव अघि सारेका थिए। उनले एआईको क्षमता पछिल्लो समय निकै तीव्र गतिमा बढिरहेको भन्दै सुरक्षा उपायले त्यसको गति पछ्याउन नसक्ने जोखिम रहेको बताएका हुन्।
अमोदेईले एआईको अर्को पुस्ताका मोडेल विकास गर्दा पर्याप्त सुरक्षा परीक्षणका लागि समय दिनुपर्ने बताएका छन्। उनले स्वतन्त्र मूल्याङ्कनकर्तालाई एआई मोडेलमा स्थायी पहुँच दिएर सुरक्षा मापदण्ड पालना भए-नभएको जाँच गर्नुपर्ने प्रस्ताव पनि गरेका छन्।
अमोदेईको प्रस्तावलाई ओपनएआईका सिइओ साम अल्टम्यान र एक्सएआईका एलन मस्कले पनि समर्थन गरेका छन्। अल्टम्यानले एआई विकासको गति सुरक्षित सीमाभित्र राख्नुपर्ने बताएका छन् भने मस्कले अमोदेई सही भएको प्रतिक्रिया दिएका छन्।
अमोदेईले एआईको विकास अनियन्त्रित रूपमा अघि बढेमा आगामी ६ देखि १२ महिनामै एआई एजेन्टको झुण्डले इन्टरनेटको ठुलो हिस्सा नियन्त्रणमा लिन सक्ने चेतावनी दिएका छन्। यस्तो अवस्थामा सयौँ अर्ब डलर बराबरको क्षति हुन सक्ने उनको दाबी छ।
एआई विकासमा ‘ब्रेक’ लगाउन तीन टेक दिग्गज सहमत
उनले एआईलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्ने धारणा भने राखेका छैनन्। बरु एआईको क्षमता विकास र त्यसको सुरक्षा व्यवस्थाबिच सन्तुलन कायम गर्नुपर्ने बताएका छन्। उनका अनुसार एआईबाट चिकित्सा तथा अन्य क्षेत्रमा ठुलो फाइदा लिन सकिने भएकाले प्रविधिको विकास नै रोक्नु उचित हुँदैन।
तर ट्रम्पले एआई विकास सुस्त बनाउनुपर्ने मागको कडा विरोध गरेका छन्। उनले एआई र डाटा सेन्टरविरुद्ध ‘अस्वस्थ षड्यन्त्र’ भइरहेको बताए। उनले एआईलाई आवश्यक पर्ने मुख्य ‘रेलिङ’ नै आफूजस्तो बलियो र बुद्धिमान राष्ट्रपति भएको दाबी गरेका छन्। ट्रम्पले एआईमा थप सरकारी नियन्त्रणको मागले अमेरिकालाई प्रविधिको क्षेत्रमा चीनभन्दा पछि पार्न सक्ने बताएका छन्।
उनले एआईबाट विश्व नियन्त्रणमा पर्ने वा मानवता नष्ट हुनेजस्ता चिन्तालाई समेत ‘झूट’ भनेका छन्। उनले आफ्नो प्रशासनले एआई कम्पनीहरूलाई गलत वा सम्भावित रूपमा हानिकारक काम गर्नबाट रोक्न आवश्यक कदम चालिसकेको दाबी गरेका छन्।
उपराष्ट्रपति जेडी भान्सले पनि एआई कम्पनीका प्रमुखहरूले सरकारसँग आफूहरूलाई नियमन गर्न आग्रह गर्नुलाई अस्वाभाविक भनेका छन्। उनले यस्तो मागलाई ‘ट्रोजन हर्स’ जस्तो देखिएको बताए।
यसैबिच, अमोदेईले चीनलाई एआई विकासमा अगाडि बढ्नबाट रोक्न अमेरिकाले उन्नत एआई चिप र चिप बनाउने उपकरणमा लगाएको प्रतिबन्ध कायम राख्नुपर्ने तर्क गरेका छन्। उनले चीनले एआईमा नेतृत्व हासिल गरे त्यसले अमेरिका र विश्वका लागि गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
अमोदेईको यो धारणालाई चीनले अस्वीकार गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनलाई लिएर डर फैलाउने र टकराव बढाउने दृष्टिकोणले विश्वव्यापी एआई सहकार्यमा बाधा पुग्ने बताएका छन्।
चीनले एआई विकासमा सबै देशले सहकार्य गर्नुपर्ने बताउँदै अमोदेईको धारणा ‘डर फैलाउने’ खालको भएको प्रतिक्रिया दिएको छ।
बेइजिङ आफैँले पनि एआईका जोखिमबारे चिन्ता व्यक्त गर्दै आएको छ। चिनियाँ अधिकारीहरूले विदेशी शक्तिले एआई प्रयोग गरेर साइबर आक्रमण, संवेदनशील सूचना चोरी र राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्।
एआईको विकासको गति, सुरक्षा र सरकारी नियमनबारे पछिल्लो बहसले अमेरिका र चीनबिचको प्रविधि प्रतिस्पर्धालाई समेत थप तीव्र बनाएको छ। एआई विकासमा अमेरिकाले आफ्नो अग्रता गुमाउन नहुने ट्रम्पको धारणा छ।
अर्कोतिर अमोदेईसहित केही टेक दिग्गजले सुरक्षा सुनिश्चित गर्न विकासको गति केही नियन्त्रण गर्नुपर्नेमा जोड दिइरहेका छन्। आगामी सेप्टेम्बर २४ मा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच हुने भेटमा एआई सुशासनलगायत विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ। एजेन्सीको सहयोगमा








२८ भदौ , २,०८३