नोटिफाई नेपालLoading...



काठमाडौंको मीनभवनमा रहेको सिभिल अस्पतालले भर्ना भई उपचाररत बिरामीलाई दुई छाक खाना दिन सुरु गरेको छ। सुरुमा दुई छाक खाना उपलब्ध गराइने र पछि खाजाको पनि व्यवस्था गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए।
अस्पतालले सेवा सुरु गरेको १७ वर्षसम्म बिरामीले आफैं किनेर खाने व्यवस्था थियो। अस्पतालमा पहिलो पटक यस्तो सेवा सुरु गरिएको जानकारी दिँदै निर्देशक रेग्मीले चालु आर्थिक वर्षमै बजेट विनियोजन भएको भए पनि विभिन्न प्रक्रिया पूरा गर्न समय लागेकाले सेवा सुरु गर्न ढिलाइ भएको बताए।
रेग्मीका अनुसार यो सेवा सुरु गर्नु अघि विभिन्न अस्पतालका खानासम्बन्धी व्यवस्थाको अध्ययन तथा अस्पतालका पोषणविद्को सुझावअनुसार खानाका परिकारको व्यवस्था गरिएको छ।
यसअघि बिरामीले आफैं किनेर खाँदा उनीहरूको आवश्यकताअनुसार पोषण पर्याप्त नहुने तथा कतिपय खानाले उल्टै स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवस्था थियो। अस्पतालले खानाको व्यवस्थासँगै बिरामीका लागि आवश्यक पोषण आपूर्ति हुने भएकाले यो लाभदायी हुने जनाएको छ।
“पोषणविद्को निर्देशनमा मात्र बिरामीको खानामा आवश्यक पोषण समावेश हुने गरी व्यवस्था गरेका छौं,” उनले भने।
अस्पतालमा सेवा सुरु गर्नु अघि वीर र टिचिङ अस्पतालबाट अनुभव तथा जानकारी लिइएको थियो।
अस्पतालले यो सेवाका लागि वार्षिक डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। आगामी वर्षका लागि पनि बजेट सुनिश्चित भइसकेकाले अबदेखि अस्पतालमा भर्ना भएका बिरामीका लागि निःशुल्क खानाको व्यवस्था दीगो हुने निर्देशक रेग्मीले बताए।








२६ जेठ , २,०८३