नोटिफाई नेपालLoading...



उखु किसानको करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी फरार रहेका अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।
लामो समयदेखि किसानको पसिनाको मूल्य नदिई ‘आपराधिक लाभ’ लिएको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाहीको हरिपुर नगरपालिका-१ घर भई हाल पश्चिम नवलपरासीमै बस्दै आएका विनोद साह कलवार रहेका छन्।
उखु किसानहरूलाई भुक्तानी दिनुपर्ने करोडौं बक्यौता रोकेर फरार रहेका दुवै जनालाई विशेष खोजी कार्यका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अन्नपूर्ण सुगर मिलले उखु खरिद गरेबापत किसानहरूलाई २२ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी थियो। सो रकम भुक्तानी नगरी सञ्चालकहरूले गैरकानुनी रूपमा व्यक्तिगत आर्थिक लाभ लिएको उजुरी परेपछि उनीहरूविरुद्ध मुद्दा दर्ता भएको थियो।
प्रहरीले पक्राउ परेका दुवै सञ्चालकविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।









१ श्रावण , २,०८३