नोटिफाई नेपालLoading...



बेलायतस्थित नेपाली व्यवसायी तथा समाजसेवी उत्तम नेपालले भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
नेपालले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट गरी एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले आफ्नी छोरी सुष्मा नेपालले ‘गोफन्डमी’ अभियानमार्फत ४२ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन गरेको जानकारी पनि दिए। उक्त रकम बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितहरूको सहयोगमा खर्च गरिएको उनले बताए।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले चालु आर्थिक वर्षभित्रै गैरआवासीय नेपाली (एनआरएन) नागरिकता कार्यान्वयनमा ल्याउने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकार सक्रिय रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको नेतृत्वमा सोमबार परराष्ट्र मन्त्रालय पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले यस्तो बताएका हुन्।
मन्त्री खनालले एनआरएन नागरिकता कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार पार्ने काम भइरहेको जानकारी दिँदै जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुकले भोग्नुपरेका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउन गैरआवासीय नेपाली समुदायलाई आग्रह गरे।
उनले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछि गैरआवासीय नेपाली समुदायले देखाएको सद्भाव, सहयोग र मानवीय सेवाको प्रशंसा गर्दै विपद्का बेला प्राप्त सहयोगले प्रभावित नागरिकलाई राहत पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
भेटका क्रममा एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्य र बेलायतस्थित व्यवसायी तथा समाजसेवी उत्तम नेपालले नेपाल सरकारलाई दुई सेट डीएनए किटसमेत हस्तान्तरण गरेका थिए।
उक्त किट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामार्फत सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
लण्डनस्थित युमी इन्टरनेशनल लिमिटेडका निर्देशक नेपालले कठिन परिस्थितिमा नेपाल सरकारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा सांसद विदुषी राणाले विदेशमा रहेका नेपालीहरूले देखाएको परोपकारी भावना र मानवीय सहयोगको प्रशंसा गरिन्। विपद्का बेला नेपाललाई विश्वभर छरिएर रहेका नेपालीहरूको सहयोग आवश्यक रहेको उनले बताइन्।








९ कात्तिक , २,०८३