नोटिफाई नेपालLoading...



नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति-संघर्ष वारपारको मोडमा पुगेको छ।
पूर्वसभापति शेरबहादुर देउवाले आगामी असोज ३ गतेदेखि सुरु हुने भनिएको १५औं महाधिवेशनको निर्वाचन प्रक्रिया पूर्ण रूपमा बहिष्कार गर्न कार्यकर्तालाई आह्वान गरेका छन् भने यता पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले देशभरका ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाउँदै उत्साहपूर्वक निर्वाचनमा सहभागी हुन निर्देशन दिएको छ।
सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यतालिका कार्यान्वयन गर्न केन्द्रीय निर्वाचन समितिले सम्पूर्ण शक्ति परिचालन गरेको छ।
समितिका संयोजक प्रेमबहादुर खड्काले ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू पुगिसकेको र जिल्ला कार्यसमितिहरूसँग समन्वय गरी निर्वाचन प्रक्रियामा होमिइसकेको जानकारी दिए।
तालिकाअनुसार असोज ३ र ४ गते देशभरका ६ हजार ७४३ वडामा अधिवेशन हुनेछ। त्यसपछि असोज ७ गते पालिका, असोज १० गते प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म १५औं केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तयारी छ।
निर्वाचन समितिले पार्टीका सबै तह र क्रियाशील सदस्यहरूलाई कुनै भ्रममा नपरी उत्साहप्रद रूपमा निर्वाचनमा भाग लिन अपिल गरेको छ।
देउवाको काउन्टर: असोज ३ को चुनाव अवैधानिक
उता, पूर्वसभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशनमार्फत आएको सभापति गगन थापा नेतृत्वको समितिलाई अवैधानिक ठहर गर्दै असोज ३ को प्रक्रियामा सहभागी नहुन ६ बुँदे अपिल जारी गरेका छन्।
विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन रहेको र अदालतले पुनरावलोकनको ‘निस्सा’ दिइसकेको अवस्थामा जबर्जस्ती निर्वाचन अघि बढाउनु कानुन विपरीत भएको देउवाको जिकिर छ।
आफूलाई अब कुनै पदको लोभ नरहेको बताउँदै देउवाले १४औं महाधिवेशनबाट निर्वाचित सभापतिका हैसियतले आफूले नै १५औं महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने दाबी गरेका छन्।
उनले पार्टी विभाजनको खतरा औँल्याउँदै आगामी मंसिर २१, २२ र २३ गते नियमित महाधिवेशन गर्ने भन्दै त्यसको तयारीमा जुट्न आफ्ना पक्षधर नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।
सभापति गगन थापाले संस्थापन पक्षबाट निर्धारित समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीलाई नयाँ गति दिने अडान राख्दै निर्वाचन मेसिनरी परिचालन गरिसकेका छन्।
अर्कोतर्फ पूर्वसभापति देउवाले समानान्तर रूपमा मंसिरको मिति प्रस्ताव गर्दै बहिष्कारको मोर्चा कसेपछि कांग्रेसको आसन्न १५औं महाधिवेशन मैदानमा कार्यकर्ता कसको पक्षमा उभिनेछन् भन्ने चासो चुलिएको छ।







२८ भदौ , २,०८३