नोटिफाई नेपालLoading...



विश्वकै अग्लो मानिएको खोटाङमा निर्मित किराँती राजा यलम्बर सालिक वैशाख १८ देखि खुला हुने भएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १४ बुइपास्थित पञ्चदोबाटोमा निर्मित सालिक अनावरण गरी त्यहाँ निर्मित यलम्बर पार्कसमेत खुला गर्न लागिएको हो।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १४ बुइपाका वडाध्यक्ष दिनेश राईले वैशाख १८ का दिन साकेला उभौली भएकाले त्यसको अवसर पारेर सालिक अनावरण गर्न लागिएको बताए। उनका अनुसार श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी– ३ का प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) र खोटाङका सांसद आरेन राईले संयुक्तरूपमा सालिक अनावरण गर्ने कार्यक्रम राखिएको छ।
खोटाङकै चर्चित गायक राजेशपायल राई, प्रख्यात चलचित्र अभिनेता दयाहाङ राई र कलाकार एलिसा राईलगायत खोटाङका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सालिक उद्घाटन हुने वडाध्यक्ष राईले बताए।
वैशाख १८ गते साकेला उभौली किराँती समुदायको महान् र महत्त्वपूर्ण चाड भएकाले सोही दिन सालिक अनावरण गर्ने कार्यक्रम तय गरिएको बुधबार पत्रकार सम्मेलन गरी उनले जानकारी गराएका थिए। आफ्नो वडाको योजना भएकाले वडा कार्यालयबाटै सालिक उद्घाटन गर्न लागिएको वडाध्यक्ष राईको भनाइ थियो।
वरिपरि आकर्षक फूलबारी, किराँती– ३ चुला, साम्खा खिम (पितृघर) सहित अवयव रहेको पार्कमा एक सय १० फुट उचाइको भीमकाय यलम्बर सालिक निर्माण भएको छ। धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले पार्कसहितको सालिक निर्माण गरिएको पार्क पर्यटक र भक्तजनलाई टहलिन खुला गर्ने वडाध्यक्ष राईले बताए।
उता हर्क साम्पाङबाट अनावरण गर्ने तयारी वडाले गरेको निर्णयप्रति नगरपालिका भने केही असहमत देखिएको छ। बिहीबार प्रारम्भिक छलफलमा नगर उपप्रमुख विसन राईले सालिक उद्घाटन कार्यक्रम नगरपालिकाबाटै गर्ने आशयको भनाइ राखेको एक वडाध्यक्षले बताए।
उपमेयर राईले वडा कार्यालयले गर्ने भनेको कार्यक्रम संशोधन गर्नुपर्ने धारणा राखेको बताइएको छ। सालिक नगरपालिका र प्रदेश सरकारको बजेटबाट बनाइएकाले उद्घाटन पनि नगरपालिकाले नै तय गर्ने अडान उपमेयरले बिहीबारको छलफलमा वडाध्यक्षसँग लिएका छन्। उपप्रमुख राईले वडाध्यक्षहरूसँगको छलफलमा नगरपालिका र प्रदेश सरकारको बजेटबाट निर्मित संरचना भएकाले नगरले अपनत्व लिने गरी आफ्नै आयोजनामा उद्घाटन कार्यक्रम राख्ने बताएको छलफलमा सहभागीले जनाएका छन्। यद्यपि यस विषयमा शुक्रबार नगरकार्यपालिका बैठक बसेर अन्तिम टुंगो लगाउने जानकारी दिएका छन्।
२०७४ को पहिलो निर्वाचित नगर जनप्रतिनिधिको पालामा माझकिराँतको केन्द्र बुइपामा यलम्बरको सालिक निर्माण सुरु भएको थियो। ११ करोड ४९ लाख २३ हजार एक सय ५४ रुपैयाँ लागतमा निर्मित सालिकका लागि प्रदेश सरकारले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत वित्तीय लगानी बेहोरेको नगर प्रमुख तीर्थराज भट्टराईले बताए।
तत्कालीन नगर उपप्रमुख विनादेवी राई तथा अघिल्लो कार्यकालमा समेत वडाध्यक्ष विजयी दिनेश राई बुइपाकै भएकाले उनीहरूकै जोडबलमा सालिक निर्माण सुरु भएको हो। सालिक निर्माणका लागि तत्कालीन मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारबाट झन्डै आड करोड बजेट साझेदारीवापत नगरपालिकालाई उपलब्ध गराएका थिए।







१३ बैशाख , २,०८३