नोटिफाई नेपालLoading...

भक्तपुर, भदौ ६ । रोटर्याक्ट क्लब अफ भक्तपुरको आयोजनामा सञ्चालन गरिएको ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न भएको छ।
अगस्ट १९ देखि २२ सम्म माउण्ट भ्याली इङ्लिस स्कुलमा सञ्चालन भएको चारदिने तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई आरजे तथा व्यावसायिक एमसी ट्रेनर किरण सुवालले प्रशिक्षण दिएका थिए। लामो समयदेखि रेडियो तथा कार्यक्रम सञ्चालनमा सक्रिय सुवालले उद्घोषण कला, स्टेज आत्मविश्वास, सार्वजनिक वक्तृत्व, आवाजको उतारचढाव, कार्यक्रमको प्रवाह, दर्शकसँगको अन्तरक्रिया तथा व्यावसायिक कार्यक्रम सञ्चालनका विभिन्न पक्षमा प्रशिक्षण दिएका थिए।
![]()
तालिमको समापन कार्यक्रम रोटर्याक्ट क्लब अफ भक्तपुरकी सन् २०२६/२७ की अध्यक्ष आरटीआर सोनिया प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको थियो। समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमका क्रममा आफूले सिकेका विषय तथा अनुभवहरू साझा गरेका थिए।
प्रशिक्षार्थीहरूले तालिमबाट स्टेजमा बोल्ने आत्मविश्वास बढ्नुका साथै कार्यक्रम सञ्चालन गर्दा आवश्यक पर्ने व्यवहारिक ज्ञान, प्रस्तुतीकरण शैली, समय व्यवस्थापन तथा अप्रत्याशित परिस्थितिलाई सहज रूपमा व्यवस्थापन गर्ने सीप सिक्न पाएको अनुभव सुनाएका थिए। सहभागीहरूले प्रशिक्षणलाई व्यवहारिक र प्रभावकारी रहेको बताउँदै आगामी दिनमा पनि यस्ता तालिमहरू निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिएका थिए।
![]()
प्रशिक्षक सुवालले तालिममा सहभागी सबै प्रशिक्षार्थीको सक्रिय सहभागिता, सिक्ने उत्साह र अभ्यासप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै उद्घोषण केवल बोल्ने कला नभई आत्मविश्वास, प्रस्तुतीकरण र दर्शकसँगको सम्बन्ध निर्माण गर्ने कला भएको बताए।
समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो। रोटर्याक्ट क्लब अफ भक्तपुरले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा सार्वजनिक वक्तृत्व सीप अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।








१० भदौ , २,०८३